काठमाडौँ ।
वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडीको समस्या समाधान गर्दै खेल क्षेत्रको विकास र खेलाडी उत्पादनका लागि प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने बताउनुभएको छ । खेलाडीको समस्या आफूले बुझेको उल्लेख गर्दै उहाँले प्रदेशका सबै क्षेत्रमा खेलाडी उत्पादन र उनीहरूलाई व्यवस्थित रूपमा खेल क्षेत्रमा अघि बढाउने नीति प्रदेश सरकारले लिने बताउनुभएको हो । हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको आयोजनामा शनिबार दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री थापाले खेलाडीलाई आवश्यक प्रशिक्षक, पूर्वाधार र अवसर उपलब्ध गराउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भयो । खेलाडी उत्पादनका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ छ । प्रदेश सरकारले १३ जिल्ला र ११९ स्थानीय तहमा सम्भावना भएका खेल क्षेत्रलाई मागका आधारमा बजेट विनियोजन गर्दै आएको उहाँले बताउनु भयो । मुख्यमन्त्री थापाले खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा बोकेर मैदानमा उत्रिँदा देशको पहिचान र गौरव बढ्ने बताउनुभयो । नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने माध्यममध्ये अन्तर्राष्ट्रिय खेलकुद र सगरमाथा प्रमुख रहेको उहाँको भनाइ छ ।
मुख्यमन्त्री थापाले विगतमा खेलाडीलाई विभिन्न स्वार्थका लागि प्रयोग गरिँदा खेल क्षेत्रकै बदनाम भएको उल्लेख गर्नुभयो । निर्माण व्यवसायीले ठेक्कापट्टाका क्रममा तथा राजनीतिक दलहरूले निर्वाचनका समयमा खेलाडीको प्रयोग गर्ने गरेको भन्दै उहाँले खेलाडीलाई त्यस्ता गतिविधिबाट अलग राख्नुपर्ने बताउनु भयो । खेल आत्मरक्षा र प्रतिष्पर्धाका लागि महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै उहाँले खेलाडीलाई वडा, पालिका, जिल्ला हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुने अवसर सिर्जना गर्नुपर्ने बताउनु भयो । प्रदेश सरकारले खेलकुद मन्त्रालयमार्फत विभिन्न खेलका प्रतियोगिता आयोजना गर्ने, खेलकुदका लागि बजेट विनियोजन गर्ने तथा आवश्यक स्थानमा डोजाङ, रंगशाला, कभर्डहल र खेलमैदान निर्माणमा सहयोग गर्दै आएको मुख्यमन्त्री थापाले जानकारी दिनुभयो ।कार्यक्रममा सन् २०२५ मा अजरबैजानको बाकु शहरमा सम्पन्न अन्र्तराष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसीपमामा ८५ केजी तौल समुह तर्फ फुलकन्ट्याक्ट कराँते विधामा स्वर्ण पदक र किक बक्सिङ विधामा काँस्य पदक जित्न सफल सुदर्शन खतिवडालाई सम्मान समेत गरिएको थियो । मकवानपुर तेक्वान्दो डोजाङको व्यवस्थापन तथा जिल्ला तेक्वान्दो डोजाङ मकवानपुरको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा १४ वटा डोजाङबाट महिला तथा पुरुष गरी १ सय ६० जना खेलाडी सहभागी हुनेछन् । प्रतियोगिता महिला र पुरुषतर्फ विभिन्न सात तौल समूहमा सञ्चालन गरिने अध्यक्ष सिग्देलले बताउनु भयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट पुरुष र महिला खेलाडीलाई जनही ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।




