काठमाडौं ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीले बाढीपहिरोको उच्च जोखिम रहेका क्षेत्रमा जथाभावी बेलिब्रिज राख्नु घातक हुनसक्ने चेतावनी दिनुभएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उहाँले बेलिब्रिज निर्माण र व्यवस्थापनका प्राविधिक कठिनाइबारे जानकारी गराउनुभएको हो । महानिर्देशक जैसीकाअनुसार बेलिब्रिज निर्माण गर्दा आवश्यक पर्ने बलियो फाउण्डेसन र त्यसको सुरक्षाका लागि उच्च प्राविधिक सतर्कता अपनाउनुपर्ने हुन्छ । उहाँले रसुवागढी नाकाको उदाहरण दिँदै बेलिब्रिज निर्माणका लागि ठूलो खर्च र लामो समय लाग्ने औँल्याउनु भयो । साथै, बर्खा लाग्नुपूर्व नै त्यस्ता अस्थायी संरचना हटाउनुपर्ने बाध्यात्मक अवस्था रहेकाले यसले थप आर्थिक भार र प्राविधिक जटिलता निम्त्याउने उहाँको तर्क छ । विभागले नियमविपरीत र बजेटको सुनिश्चितता नहुँदा पनि आपत्कालीन अवस्थामा काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले ढुङ्गेवामा भइरहेको काम तिहारलगत्तै दुई हप्ताभित्र सम्पन्न हुने विश्वास दिलाउँदै, सबै पक्षको समन्वयमा मात्रै निर्णय लिनुपर्नेमा जोड दिनुभयो ।




