रामवीरलाई पो तनाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

रामवीरलाई पो तनाव

Bamdev-Gautam-and-rambir-manandar

काठमाडौं, २७ असोज । दशैले गर्दा सुनसानप्रायः सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा आउने–जाने क्रम फाट्टफुट्ट मात्र थियो। काठमाडौं निर्वाचन क्षेत्र ७ का सांसद रामवीर मानन्धर बिहीबार अपराह्न १ बजेतिर कार्यालय आइपुग्दा माहोल बेग्लै बन्यो। पार्टीका सांसद र कार्यकर्ताको घेरामा परेका उनीमाथि प्रश्नको ओइरो लाग्यो।

‘पार्टीले टिकट दिएको हो, पार्टीले भनेपछि जसले पनि पद छाड्नुपर्छ’, उनले झर्को मान्दै जवाफ दिए। अधिकांशले ‘पार्टीमा सल्लाह नै नभई कसरी राजीनामा दिनुभयो त ? ’ भन्ने प्रश्न तेस्र्याए। उनी यो प्रश्नको जवाफ दिनबाट तर्किंदै थिए। उनी केही बेरमै दलको कार्यालयबाट निस्किए।

नेता वामदेव गौतमका लागि सांसद पदबाट राजीनामा दिएको पत्र अध्यक्ष पुष्पकमल दाहालमार्फत पार्टीमा बुझाएपछि उनी चर्चामा छन्। पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग सल्लाह नगरी उनले राजीनामापत्र बुझाएपछि शीर्ष नेता नै आश्चर्यमा परेका छन्। उनको निर्वाचन क्षेत्रका नेता÷कार्यकर्ताले यो कदमप्रति जिज्ञासा राख्दै आक्रोश जनाएका छन्। राजीनामा दिने चर्चा सुनेदेखि नै कार्यकर्ताले उनलाई निरन्तर फोन गरिरहेका छन्।

राजीनामापत्र पार्टीमा बुझाए पनि गौतम चुनाव नलड्ने निष्कर्षमा पुगेपछि उनी अप्ठेरोमा देखिएका छन्। उपत्यकामा पार्टीको जनमत खस्किएका बेला पनि उनले एमालेबाट दोस्रो संविधानसभा चुनाव जितेका थिए। यसपटकको कदमपछि उनको राजनीतिक भविष्यमाथि नै प्रश्न उठेको छ। तर, उनले यसलाई अस्वीकार गरेका छन्। ‘मलाई भोट दिने कसैले पनि विरोध गरेका छैनन्’, उनले अन्नपूर्णसँग भने, ‘मलाई केही गाह्रो पर्दैन।’

आफ्नो क्षेत्रका कार्यकर्तासँग भने उनी ‘फेस सेभिङ’ गर्न नसकेर भागिरहेको नेताहरू बताउँछन्। ‘प्रदेश सांसद प्रकाश श्रेष्ठको नेतृत्वमा हामी शुक्रबार बिहान उहाँको निवास बालाजु पुग्यौं। उहाँ घरबाट निस्किसक्नुभएको थियो’, स्थानीय एक नेताले भने, ‘उहाँ (रामवीर) हामीसँग तर्किंदै हिँड्नुभएको छ।’

रामवीरले भने आफू पार्टीको इमानदार कार्यकर्ता भएका कारण पार्टीले गर्ने सबै निर्णय र आदेशअनुसार चल्ने बताए। ‘वामदेव कमरेड चुनाव नलड्ने भएपछि यो विषय सकियो’, उनले भने, ‘अब के गर्ने भन्ने विषयमा पार्टीले सोच्ला नि !’

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);