जनकपुरधामको राजदेवी मन्दिरमा सुरक्षा निकायको सलामीसहित भित्र्याइयो फूलपातीः मिथिलामा ‘बेलतोडी’को रौनक | ईमाउण्टेन समाचार

Our Network

असोज ३० २०८३, शनिबार

जनकपुरधामको राजदेवी मन्दिरमा सुरक्षा निकायको सलामीसहित भित्र्याइयो फूलपातीः मिथिलामा ‘बेलतोडी’को रौनक

काठमाडौँ ।

बडादशैँको सातौँ दिन अर्थात महासप्तमीका अवसरमा आज मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित प्रसिद्ध शक्तिपीठहरूमा परम्परागत विधिअनुसार हर्षोल्लासका साथ फूलपाती भित्र्याइएको छ । ऐतिहासिक राजदेवी मन्दिरमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टुकडीले सलामी अर्पण गर्दै भव्य रूपमा फूलपाती प्रवेश गराएको हो । श्री महावीर युवा कमिटी तथा श्री राम युवा कमिटीको संयुक्त संयोजनमा आयोजित उक्त समारोहमा बिहानैदेखि श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको थियो । शक्तिपीठ राजदेवी मन्दिर परिसरबाट निस्केको विशेष शोभायात्रा परम्परागत बाजागाजा र सांस्कृतिक झाँकीसहित जनकपुरधामकै गिरिनारी कुट्टी प्राङ्गण पुगेको थियो ।

कुट्टी परिसरमा रहेको पवित्र बेलको रूखमुनि वैदिक विधिअनुसार पूजाअर्चना सम्पन्न गरी बेलको फल टिपेर ल्याइएको थियो । मन्दिर व्यवस्थापन तथा स्थानीय अगुवाहरूका अनुसार सुरक्षा निकायको गारत सलामी र भक्तजनको जयघोषका बीच उक्त बेलको फलसहितको नवपत्रिकालाई राजदेवी मन्दिरको गर्भगृहमा विधिपूर्वक भित्र्याइएको हो । मिथिलाञ्चलमा दशैँका अवसरमा बेलको पूजा र विधिलाई अत्यन्तै श्रद्धा एवं महत्वका साथ लिने गरिन्छ । परम्पराअनुसार षष्ठी तिथिको साँझ बेलको फललाई रातो वा पहेँलो कपडाले बाँधेर विधिवत रूपमा पूजा गरी निम्तो दिइने प्रचलनलाई स्थानीय भाषामा ‘बेलनौती’ भन्ने गरिन्छ । त्यसैगरी, सप्तमीको बिहान निम्ता गरिएको उक्त बेलको फल टिपेर मन्दिरमा ल्याई शक्तिस्वरूपा भगवतीलाई चढाउने वा बलि दिने विधिलाई ‘बेलतोडी’ भनिन्छ । शताब्दीयौँ पुरानो यो मौलिक परम्पराले मिथिलाको सांस्कृतिक वैभव तथा प्रकृतिपूजक विशिष्ट चरित्रलाई उजागर गरेको छ । फूलपाती भित्र्याइएसँगै जनकपुरधामका शक्तिपीठहरूमा दर्शनार्थीहरूको घुइँचो बढेको छ ।

Leave a Reply

ताजा समाचार