चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागूः धनुषामा गण र बाहिनीबाट थप सुरक्षाकर्मी परिचालन | ईमाउण्टेन समाचार

Our Network

असोज ३० २०८३, शनिबार

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागूः धनुषामा गण र बाहिनीबाट थप सुरक्षाकर्मी परिचालन

काठमाडौँ ।

धनुषा जिल्ला प्रशासनले विजयादशमी, दीपावली तथा छठ पर्वलाई लक्षित गरी जिल्लाभर एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । चाडपर्वका समयमा सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ बनाउन जिल्लास्थित सुरक्षा निकायका अतिरिक्त गण र बाहिनीबाट समेत थप सुरक्षाकर्मी झिकाएर परिचालन गरिएको हो । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले चाडपर्वलाई भयरहित, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको जानकारी दिनुभयो । शैँको महासप्तमीका अवसरमा जनकपुरधामस्थित महावीर युवा कमिटीद्वारा आयोजित राजदेवी माताको मन्दिर परिसरबाट सुरक्षा अवस्थाबारे जानकारी गराउँदै प्रजिअ लुइँटेलले जिल्लाको समग्र सुरक्षा व्यवस्था प्रभावकारी रूपमा मिलाइएको स्पष्ट पार्नुभयो । उहाँकाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त सहभागितामा एकीकृत सुरक्षा योजना लागू गरिएको हो । चाडपर्वमा हुनसक्ने चोरी, लुटपाट, जुवातास, कालोबजारी तथा अन्य अवाञ्छित गतिविधि रोक्न सदरमुकाम जनकपुरधामका संवेदनशील क्षेत्र तथा ग्रामीण भेगहरूमा समेत नियमित पट्रोलिङ र आकस्मिक जाँच तिब्र पारिएको छ ।

भीडभाड हुने मुख्य धार्मिक स्थलहरू र बजार क्षेत्रमा सादा पोशाकका सुरक्षाकर्मी (इन्टेलिजेन्स) परिचालन गरी विशेष निगरानी बढाइएको प्रशासनले जनाएको छ । शान्ति सुरक्षामा खलल पु¥याउने वा कानूनविपरित गतिविधिमा संलग्न जोकोहीलाई तत्काल नियन्त्रणमा लिएर कानूनी दायरामा ल्याइने चेतावनी दिँदै प्रजिअ लुइँटेलले सुरक्षा टोली सोहीअनुसार परिचालित भइसकेको बताउनु भयो । साथै, प्रमुख जिल्ला अधिकारीले सम्पूर्ण धनुषावासीलाई शुभकामना व्यक्त गर्दै आपसी सद्भाव, भ्रातृत्व र एकता कायम राखेर हर्षोल्लासपूर्वक चाडपर्व मनाउन अपिल समेत गर्नुभएको छ ।

Leave a Reply

ताजा समाचार