अछामका बजारमा घर फर्किनेको चहलपहल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अछामका बजारमा घर फर्किनेको चहलपहल

अछाम । रोजगारीका लागि जिल्ला बाहिर र विदेश गएका सर्वसाधारण चाडबाड मनाउन घर फर्कन थालेपछि अछामका बजार र गाउँमा चहलपहल बढेको छ । देशभित्रकै विभिन्न जिल्ला र भारतमा रहेकाहरू दसैं तिहार मनाउन घर फर्किने क्रम बढेसँगै यहाँका बजार र गाउँमा किनमेल गर्नेको चहलपहल बढेको हो ।

जिल्ला भित्रिने सर्वसाधारणको संख्या बढेसँगै सवारीसाधनमा यात्रुहरूको चाप पनि बढेको छ । जिल्लाको चौखुट्टे नाका भएर एक सातामा चार सय ९७ जना महिला र १४ सय ८७ पुरुष भित्रिएको चौखुट्टे प्रहरी चौकीमा असई पदमराज जोशी जानकारी दिए ।  पछिल्लो एक महिनामा मात्रै आठ सयभन्दा बढी यात्रु साँफेबगर हुँदै जिल्ला भित्रिएको यातायात व्यवसायीको भनाइ छ । शूदुरपश्चिम बस टिकट काउन्टर साँफे छिपेखोलाका चक्रबहादुर कुँवरका अनुुसार बसमा यात्रुको चाप नभए पनि दैनिक दुई सयको हाराहारीमा सर्वसाधारण जिल्ला भित्रिएका छन् । कर्णाली रिभर यातायात साँफेबजार टिकट काउन्टरका इन्चार्ज दिपेन्द्र कुँवरले पनि दैनिकी दुई सयभन्दा बढी सर्वसाधारण आइरहेको बताए ।

जिल्ला प्रहरी कार्यालय अछामले दसैं, तिहार पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वका बेला हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई रोक्न विशेष सुरक्षा योजना बनाएको प्रहरी कार्यालयले जनाएको छ । दसैं र तिहारका बेला हुन सक्ने चोरी, डकैती, ठगी लगायतका आपराधिक गतिविधिलाई ध्यान दिँदै सुरक्षा योजना लागू गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक तुल्सिराम अर्यालले जानकारी दिए । 

विशेष सुरक्षा योजना
अछामका शहरी र ग्रामीण क्षेत्रलाई दुई भागमा विभाजन गर्दै एकीकृत सुरक्षा योजना बनाएको र २४ वटा स्थानमा विशेष टोली परिचालन गरेको प्रमुख प्रहरी नायव उपरीक्षक अर्यालले जानकारी दिए । उनले जिल्लामा कार्यरत तीन सय सुरक्षाकर्मी मध्ये ८२ प्रहरीलाई दसैं, तिहारमा शान्ति सुरक्षा कामय राख्न विशेष रुपमा परिचालन गर्ने तयारी भएको जानकारी दिए । 

नागरिक कक्ष स्थापना
प्रहरीको विशेष सुरक्षा योजनामा सिमाक्षेत्रका चार स्थानमा नागरिक सहायता कक्ष स्थापना, राजमार्ग क्षेत्रमा रिफ्रेस सेन्टर स्थापना, राजमार्ग क्षेत्रमा सरप्राइज चेकिङ, स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमन रहेको छ । यस्तै, मोबाईल गस्ती, धार्मिक तथा पर्यटकीय क्षेत्रमा विशेष सुरक्षा योजना, बैंक तथा वित्तीय संस्थालाई विशेष निगरानीमा राख्ने नीति लिएको प्रहरीले जनाएको छ । 

दसैं तिहारमा धर्ना, जुलुस भएमा त्यसको नियन्त्रणका लागि प्रहरी परिचालन हुनेछन् । चाडपर्वमा हुनसक्ने अवान्छित गतिविधि नियन्त्रणसँगै महामारीलाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइ गरिने प्रहरीको भनाइ छ । चाडपर्वका बेला जिल्लाभर करिब २ सय २८ प्रहरी परिचालन गरिने प्रमुख नायव उपरीक्षक अर्यालले जानकारी दिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);