सिरियामा तेल तथा ग्यास पाइपलाइनमा दुई छुट्टाछुट्टै दुर्घटनाः आगलागी र ग्यासोलिन चुहावटपछि राजमार्ग बन्द | ईमाउण्टेन समाचार

Our Network

असोज ३० २०८३, शनिबार

सिरियामा तेल तथा ग्यास पाइपलाइनमा दुई छुट्टाछुट्टै दुर्घटनाः आगलागी र ग्यासोलिन चुहावटपछि राजमार्ग बन्द

काठमाडौं |

सिरियाको तेल तथा ग्यास पाइपलाइन प्रणालीमा दुई छुट्टाछुट्टै गम्भीर दुर्घटना भएका छन् । उत्तर–पूर्वी प्रान्त हसाकाहमा ग्यास पाइपलाइनमा भएको विस्फोटपछि भीषण आगलागी भएको छ भने मध्य प्रान्त होम्समा इन्धन चोरी गर्ने उद्देश्यले गरिएको तोडफोडका कारण ठूलो परिमाणमा ग्यासोलिन चुहावट भई प्रमुख राजमार्ग पूर्ण रूपमा बन्द गर्नुपरेको छ । सिरियाली सरकारी समाचार संस्था सानाकाअनुसार उत्तर–पूर्वी प्रान्त हसाकाहको अल–शद्दादी शहरबाट करिव ६० किलोमिटर टाढा रहेको अल–अरबिदी क्षेत्रस्थित अल–जबसा ग्यास निर्यात पाइपलाइनमा शक्तिशाली विस्फोट भएको हो । विस्फोटपछि पाइपलाइनको केही भागमा आगो सल्किएको सिरियन पेट्रोलियम कम्पनीले जनाएको छ । कम्पनीका प्रवक्ता ओदाय अल–सातोउफका अनुसार प्राविधिक टोलीहरू आगलागी नियन्त्रणमा लिन र क्षतिको यकिन मूल्याङ्कन गर्न घटनास्थलमा खटिएका छन् । आउँदो साताको प्रारम्भसम्म मर्मत कार्य सम्पन्न गरी ग्यास आपूर्ति पूर्ववत अवस्थामा फर्काउने लक्ष्य कम्पनीले लिएको छ । पाइपलाइन अवरुद्ध भएपनि विद्युत उत्पादन केन्द्रहरूमा वैकल्पिक माध्यमबाट ग्यास आपूर्ति गरिने र घरायसी ग्यास आपूर्तिमा कुनै असर नपर्ने अधिकारीहरूले स्पष्ट पारेका छन् । यसैगरी बिहीबार नै तटीय शहर बानियासलाई होम्ससँग जोड्ने पेट्रोलियम पाइपलाइनमा पनि क्षति पुगेको छ । पश्चिमी होम्स प्रान्तको हदिदा नजिकै पाइपलाइन प्वाल पारिएपछि अत्यधिक मात्रामा ग्यासोलिन सडक तथा वरपर फैलिएको थियो । सम्भावित आगलागी तथा मानवीय क्षति रोक्न सुरक्षा निकायले होम्स–टार्टस राजमार्ग दुवैतर्फबाट बन्द गरेका छन् । प्रवक्ता अल–सातोउफले इन्धन चोर्ने आपराधिक समूहले गरेको तोडफोडका कारण सो पाइपलाइन फुटेको दाबी गरेका छन् । लामो समयको गृहयुद्धका कारण क्षतविक्षत भएको सिरियाको ऊर्जा संरचनालाई पछिल्ला केही सातायता निरन्तर निशाना बनाइँदै आइएको छ । यसअघि दमास्कसबाहिर रहेको तिश्रिन विद्युत केन्द्र नजिकै भएको विस्फोटले पनि केही समय विद्युत उत्पादनमा अवरोध पु¥याएको थियो । युद्धपछिको पुनर्निर्माणमा जुटेको सिरियामा इन्धन अभाव र बिजुली संकट निरन्तर गहिरिँदो छ ।

Leave a Reply

ताजा समाचार