बाजुराका युवा व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बाजुरा, ८ भदौ । रोजगारीका कुनै स्रोत फेला नपरेपछि आयआर्जनका लागि बाजुराका युवा व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । थोरै जमिन र थोरै लगानीमा धेरै आम्दानी हुने भएपछि रोजगारीको मोह त्याग्दै बाजुराली युवाले तरकारीखेती सुरु गरेका हुन् ।

बडिमालिका नगरपालिका वडा नम्बर ९ का ३५ वर्षीय हरिचन्द्र विष्टले दुई महिनाअघि मात्र तरकारीखेती सुरु गर्नुभएको हो । चार कठ्ठा अन्न उत्पादन हुने जमिनमा अहिले गोलभेंडा फल्न थालेका छन् ।

 

कृषक विष्टले काउली, काँक्रा, सिमी, साग, मुलालगायतका तरकारी बिक्री गरेर आम्दानी गरिरहेका छन् । सदरमुकाम नजिकै भएकाले उनलाई बजारको कुनै समस्या छैन । बडिमालिका नगरपालिकामै च्याउखेती गरिरहनुभएका धर्म रावललाई महिनाको १०–१२ हजार कमाउन कुनै समस्या छैन । जिल्लामा रोजगारीको अवसर कुनै नभेटिएको भन्दै ज्याला–मजदुरीका लागि विदेश जान दैनिक १० जनाभन्दा बढीले जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाइरहेका छन् । तर, जिल्लामै बसेर कृषिक्षेत्रमा आय–आम्दानीका स्रोत खोजिरहेकाहरुलाई जिल्ला कृषि विकास कार्यालयले पनि सहयोग गरिरहेको छ ।

 

कृषि कार्यालयका अनुसार बाजुरामा व्यावसायिक कृषकको संख्या हरेक वर्ष बढ्दो छ । अहिले सात सय ५१ हेक्टरमा तरकारीखेती भइरहेको कार्यालयले जनाएको छ । कृषि कार्यालयका साथै विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुले पनि कृषकलाई आत्मनिर्भर बनाउन कृषिसम्बन्धी परियोजना सञ्चालन गरिरहेका छन् । कृषि कार्यालयले कृषि क्षेत्रमा लाग्न चाहनेहरुको पहिचान गरी विभिन्न तालिम एवं प्राविधिक सहयोग गर्न सके कृषि उत्पादनमा बाजुरा जिल्ला आत्मनिर्भर बन्न सक्ने सरोकारवालाहरु बताउँछन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);