कोरोना महामारीले डिलुलाई विदेश जान त राेक्याे तर तरकारी व्यवसायी बनायो | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०७९, आइतबार

कोरोना महामारीले डिलुलाई विदेश जान त राेक्याे तर तरकारी व्यवसायी बनायो

सुर्खेत । दैलेखका डिलु गुरुङ वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने तयारीमा थिए । गाउँमा बसेर केही गर्न सकिँदैन पैसा कमाउन त विदेशै जानुपर्छ भन्ने उनी सोच्थे । विदेश हिड्नै आटेको बेला सुरु भयो कोरोना महामारी । अनि उनी गाउँमै रोकिए ।

विदेश जाने सबै तारतम्य मिलाएका उनलाई कोरोनाले रोकेपछि केही समय के गर्ने भनेर गाउँमा भौतारिए । पाँच वर्षसम्म निजी स्रोतमा स्थानी भगवती आधारभुत विद्यालयमा पनि पढाए । यसपछि उज्यालो साना किसान सहकारी संस्थामा पनि काम गरे । सहकारीमा जोडिएपछि कृषिसम्बन्धी तालिम दिन आफै गाउँमा पुग्थे । तालिम दिने क्रममा एकाएक उनमा अर्काे सोच आयो किसानलाई तालिम दिने म आफै किन तरकारी व्यवसाय नगरौँ । आफैबाट तरकारी व्यवसाय सुरु गर्नु पर्छ भनेर आफै तरकारी व्यवसायमा होमिए ।

दैलेखको भैरवी गाउँपालिका–७ कुसापानी सिम्सेर कुसापानीका डिलु गुरुङले विदेश जाने पैसा गाउँमै लगानी गरे । १० रोपनी जग्गामा व्यवसायिक तरकारी खेती सुरु गरेका उनी अहिले भने यसैले चिनाइरहेको छ ।

आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने सोचका साथ तरकारी खेती सुरु गरेका डिलुले बारीमा टमाटर, काउली, आलु, बन्दालगायत तरकारी लगायका छन् ।

केही समयअघि घरको लागि समेत बाहिरबाट तरकारी किनेर ल्याउने उनी र उनको परिवार अहिले आफ्नै बारीमा फलेको ताजा तरकारी बेच्छन् । उनी भन्छन्– त्यही तरकारी बेचेको पैसाले सहजै घरखर्च चलाउन पुग्छ । तरकारी बेच्न उनलाई अहिले बजारको कुनै समस्या पनि छैन । गाउँमा फलाएको तरकारी घरबाटै बिक्री भइरहेको छ ।
बीएडसम्म अध्ययन गरेका उनले भनेजस्तो काम नपाएपछि गाउँमै व्यावसायिक रूपमा तरकारी खेतीमा लागेका हुन् । मिहिनेत गरेपछि आफ्नै गाउँठाउँमा प्रशस्त सम्भावना रहेको उनको भनाइ छ । उनले भने, ‘जहाँ मिहिनेत र लगनशीलता, त्यही सफलता ।’

डिलुको कृषिमा प्रगतिको सिको गर्दै गाउँमै दर्जन बढी कृषक व्यवसायीक तरकारी खेतीमा
व्यवसायिक तरकारी खेतीमा रमाएका ३१ वर्षीय डिलु गाउँका लागि पनि उदाहरणीय पात्र बनेका छन् । उनले सुरु गरेको व्यवसायिक कृषि खेती देखेर उनकै टोलका एक दर्जनभन्दा बढी कृषक व्यावसायिक तरकारी खेतीमा लागेका छन् ।

उक्त गाउँमा भैरवी गाउँपालिका र ग्रामीण जलस्रोत परियोजनालगायतका संघ–संस्थाले स्वच्छ खानेपानीका धारा, सिंचाइ पोखरी, टनेललगायत सहयोग गरेको छ । सहयोग पाएपछि यहाँका किसानमा व्यावसायिक कृषिमा अग्रसर बनेको अर्का स्थानीय मानबहादुर बरालले बताए । तरकारी व्यवसायबाटै सबै खर्च धानेर बचत समेत हुने गरेको बराल बताउँछन् ।

सोही गाउँकी सीता गुरुङको पनि घरछेउको बारीमा लटरम्म तरकारी फलाएकी छन् । अहिले उनको बारीमा काउली, टमाटरलगायतका विभन्न तरकारी फलाएर राम्रो आम्दानी गरेको उनी सुनाउँछिन्  । आफ्नै गाउँमा रोजगारीका अवसरहरू सिर्जना भए कुनै पनि नेपाली नागरिक रोजगारीको लागि भौतारिनु नपर्ने उनी बताउँछिन् । युवाहरूलाई विभिन्न सीपमूलक तथा व्यावासायीमा जोड्न स्थानीय सरकारले पनि जोड दिनुपर्ने उनको भनाइ छ ।

भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले पालिकाभित्रका किसानहरूलाई प्रोत्साहनका लागि गाउँपालिकाले कृषि र पशुपालनजस्ता व्यवसायलाई महत्व दिएको जानकारी दिए । कृषि कार्यक्रमअन्तर्गत भैंसीपालन, गाईपालन, डेरी सञ्चालनजस्ता व्यवसायमा पालिकाले विशेष ध्यान दिएको उनको भनाइ छ ।

‘हामीले तरकारी तथा फलफूल खेतीका लागि पनि काम गरिरहेका छौँ,’ उनले भने, ‘कृषि र पशुपालनजस्ता व्यवसायको लागि गाउँपालिकाले कृषि विकास कार्यालय र पशु सेवा कार्यालयसँग समन्वय गर्दै अघि बढिरहेका छौँ ।’

Leave a Reply