लकडाउनको उपहार ‘कृषि वन’, विपन्नको बदलिँदै जीवन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लकडाउनको उपहार ‘कृषि वन’, विपन्नको बदलिँदै जीवन

सर्लाही । कोरोना कहरले दैनिक ज्यला मजदुरीसमेत खोसिएका विपन्न परिवारलाई कृषि वन बरदान सावित भएको छ । सर्लाहीको हरिवन नगरपालिका–४ निवासी नागेन्द्र गिरीको हिजोआज दैनिकी मात्र फेरिएको छैन, कृषि वन परियोजनाले उनको जीवन नै परिवर्तन गरिएको छ ।

५६ वर्षका गिरीसँग १४ जनाको परिवार आश्रित छन् । सम्पत्तिको नाममा एक कठ्ठा, ऐलानी घडेरी छ । त्यसैमा बनेको एउटा काठको घरमा उनको तीन पुस्ता जसोतसो टाउको लुकाएर बसेका छन् । केही समयअघिसम्म उनले नजिकै रहेको लखन्देही खोलामा गिट्टी, बालुवा चालेर निकै संघर्षपूर्ण तरिकाले आफ्नो परिवारको गुजरा धान्दै आएका थिए । कोरोना कहरले उनलाई त्यसबाट पनि विस्थापित गरिदियो ।

उक्त संकटमा छिमेकीको सहयोगमा छाक टरेको सम्झना ताजै छ । ‘जताततै कोरोनाको डरमात्र थियो,’ उनले भने, ‘ज्याला मजदु्री गर्न जान पनि पाइएन, घरमा त्यतिका समय थुनिएर बस्दा हातमुख जोर्नेसम्म अवस्था भएन ।’ काम गर्न बाहिर निस्कन नपाएपछि छरछिमेकी र नगरपालिकाले बाँडेको राहतको भरमा केही छाक टारेको उनले बताए । त्यसबेला छिमेकीले आफ्नो खेतबारीमा काम गरेका र सामान्य ढंगले दैनिकी चलाएको देख्दा उनलाई पनि खेतीपातीले तान्यो । तर, उनीसँग एक धुर पनि खेती गर्ने जग्गा थिएन ।

लकडाउनकै बीचमा सर्लाहीको हरिवनमा रहेको ग्रामीण स्वयंसेवा समाजले युएनडीपीको लगानीमा नगरमा विपन्नलाई समेटेर कृषि वन कार्यक्रम सञ्चालन ग-यो । उक्त परियोजनामा उनका परिवार पनि समेटिए । परियोजनाले तयार गरेको योजनाअनुसार कृषि वनमा झन्डै दुई कठ्ठा जग्गा उनले पनि पाए । त्यसपछि सुरु भयो उनको कृषि कर्म । लखन्देही खोलाको नदी उकास बगरमा अरुजस्तै उनले पनि पसिना सिंचिन सुरु गरे । आफैले उत्पादन गरेको तरकारी देखेर हिजोआज उनी दंग छन् । 

उक्त बगरमा उनले पर्वर, लौका, घिरौला, तर्बुजासँगै सागपात तरकारी र फलफूल लगाएका छन् । परियोजनाले बेलाबेलामा दिने तालिम र बीउबिजन, मलखाद र पर्याप्त पानीका कारण बाली राम्रो उत्पादन भएको गिरीले सुनाए । ‘खेतीपाती पनि यस समूहमा आएपछि उहाँहरूले तालिम दिनुभयो अनि जानेको हो,’ गिरिले भने, ‘नत्र करेसामा यसो दुई÷चार बोट लसुन, प्याज लगाउनेबाहेक कहाँ खेती गर्न जान्नु ।’ अहिले यही तरकारी खेतीबाट लाखसम्म आम्दनी हुने गरेको उनको भनाइ छ ।

कृषि वनमा खेती सुरु गरेपछि आम्दानीको राम्रो स्रोत बनेको उनको भनाइ छ । ‘तरकारी बेचेर केही पैसा बचतसमेत गरेको छु,’ उनले भने, ‘आफूलाई खान तरकारी किन्नु पनि परेन, त्यो पनि बचत भयो ।’ बगरमा गरेको कृषि वन खेतीबाट लौका मात्र पाँच हजारको बेचेको उन्ले बताए । तर्बुजासमेत पाक्ने बेला भएकाले बेच्न सुरु गरेको उनको भनाइ छ । ‘बालुवामा सुन उब्जाउँदै छौ,’ गिरीले भने, ‘तरकारी बिक्री वितरणमा पनि कुनै समस्या व्यापारी खेतखेतमै आइपुग्छन् ।’

हरिवन नगरपालिका–३ निवासी सुष्मा मोक्तानको पनि कृषि वन समूह सुरु भएपछि दैनिकी बदलिएको छ । उनले पनि गत वर्ष लकडाउन सामान्य भएपछि कृषि वनमा सहभागी भएर तरकारी खेती गरिरहेकी हुन् । एक धुर पनि खेत नभएकी मोक्तानको दैनिकी पनि बिहान कमायो बेलुका खायोको अवस्थामा थियो । लामो समय चलेको लकडाउनले उनलाई पनि संकटमा पा¥यो । ससाना बालबालिका रहेका उनले मुस्किलले लकडाउनको अवधि काटेको सुनाइन् । 

अहिले उनी बिहान सबेरैदेखि साँझ अबेरसम्म तरकारी खेतमै रमाउने गरेकी छन् । उनले पनि खेतमा काक्रो, लौका, घिरौला, बोडी, सागपात लगाएको बताइन् । मोक्तानले यस सिजन सुरु भएयतामात्र १० हजार रुपैयाँको काँक्रो बिक्री गरेको बताइन् । कृषि वन कार्यक्रमअन्तर्गत सुरु भएको तरकारी खेतीबाट आजको गुजारा मात्र नभई भोलिको भविष्यसमेत उज्जल देखेको मोक्तानको भनाइ छ । ‘अहिले त दिनकै तरकारी बेचेको हुन्छु,’ उनले भनिन्, ‘दुई चार पैसा बचत पनि गरेकी छु, अब दुई चार पैसाकै लागि कसैको अगाडि हात फैलाउनु पर्दैन ।’

मोक्तानसँगै उनको समूहमा अरु ६० जना सदस्य तरकारी खेती गरिरहेका छन् । बगरको खेती भएका कारण डिपट्युवेलमार्फत सिंचाइको व्यवस्था गरिएको छ । पम्प चलाउन खेतमै कृषि मिटर जडान गरिएको छ । उक्त मिटरको पैसा आफैले सामूहिक जम्मा गरेको पैसाबाट तिर्ने गरेका छन् । भैपरी आउँदा समूहका सबैले प्रयोग गर्न सकिने गरी मासिक ३० रुपैयाँ बचतसमेत सुरु गरेको उनले बताइन् । 

लकडाउनमा खाद्यान्न संकटमा परेका विपन्न परिवारलाई ताजा र पोषिलो खाना खुवाउन सकिन्छ कि भनेर यो कार्यक्रम लागू गरेको साझेदार संस्था ग्रामीण स्वयंसेवक समाजका अध्यक्ष दधिराम पौडेलले बताए । विपन्न परिवार परनिर्भर रहने गरेका र यस्ता महामारी वा विपत्तिमा उनीहरू संकटमा पर्ने गरेकाले आर्थिक रूपमा समेत आत्मनिर्भर बनाउने प्रयास गरेको उनको भनाइ छ । कार्यक्रमअनुसार उनीहरूले अबको २५ वर्ष उक्त जमिनका खेती गरेर खान सक्ने परियोजनाका कृषि प्राविधिक सुरज खनालले जानकारी दिए ।

परियोजनाअन्तर्गत हरिवन नगरका तीन वडामा कृषि वन कार्यक्रम लागू भएको छ । हरिवन नगरपालिकासँगको सहकार्यमा लखन्देही खोला किनारको नदी उकास २५ बिघा जमिन उक्त समूहलाई उपलब्ध गराइएको छ । नगरका विपन्न नागरिकको जीवनस्तर उकास्ने कार्यमा आफूहरु लागिपरेको नगरका मेयर गणेशप्रसाद प्रसाईले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);