सिन्धुलीमा हात्ती आतंक, ६ दिनमै २८ घरमा क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सिन्धुलीमा हात्ती आतंक, ६ दिनमै २८ घरमा क्षति

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकामा केही समययता जंगली हात्तीकाे आतंक सुरु भएकाे छ । दुधौली नगरपालिका-११ माथिल्लो पत्रिंगामा गत बिहीबारबाट पसेको जंगली हात्तीले हालसम्म २८ वटा घरमा क्षति गरेको छ ।

हात्तीले घर भत्काउनुका साथै घरमा राखिएको अन्न धान, मकैलगायत खाने गरेको स्थानीयले बताएका छन् । कोसी टाप्पु वन्यजन्तु आरक्षबाट समूहमा आएको तीनवटा हात्तीले बिहीबारदेखि बस्तीमा पसेर घरहरू क्षति गरेको डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख थिरबहादुर कार्कीले बताए । “गत बिहीबारदेखि हात्तीले माथिल्लो पत्रिंगाका घरहरू भत्काउन थालेको हो । हात्तीले घर भत्काउने तथा भण्डारण गरी राखेको अन्नबाली सबै नष्ट गर्ने गरिरहेको छ । अहिलेसम्म मानवीय क्षति भने भएको छैन”, कार्कीले भने ।

उनका अनुसार कोसी टाप्पु वन्यजन्तु आरक्षबाट अझै ६ वटा हात्ती आउँदै छ । वन अतिक्रमण गरेर बनाएका घरहरूमा हात्तीले क्षति गरेको उनको भनाइ छ । “वन नजिकका घरमा हात्तीले क्षति गरेको छ । बस्तीमै गएर क्षति गरेको होइन । जुन वन नजिकका घर छन्, वन अतिक्रमण गरेर निर्माण गरेका घरमा हात्तीले क्षति गरेको हो”, उनले भने, “अझै पनि हात्तीले क्षति गर्ने क्रम बढी छ । कोसी टप्पु वन्यजन्तु आरक्षबाट ६ वटा हात्ती आउँदै गरेको हामीले जानकारी पाएका छौँ । एक महिनासम्म हात्ती त्यही क्षेत्रमा बस्छ ।”

मानिसले हात्तीको रुटमा अवरोध गरेका कारण हात्तीले क्षति गरेको उनको भनाइ छ । हात्तीलाई तर्साउने तथा भगाउन नमिल्ने भएकाले बस्तीका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिसकेको कार्कीले बताए । हात्तीलाई जिस्काउने तथा तर्साउने गरेमा मानवीय क्षतिसमेत हुने भएकाले हात्तीलाई जिस्काउने,  नजिक गई भिडियो तथा फोटो खिच्नेलगायतका कार्य नगर्न उनले आग्रह गरे । हात्तीले क्षति गरेको क्षतिपूर्ति डिभिजन वन कार्यालयले दिने उनको भनाइ छ । 

हात्तीको आक्रमणबाट क्षति भएको घरपरिवारलाई घटनास्थलमै पुगी दुधौली नगरपालिका, विभिन्न राजनीतिक दल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीले खाद्य सामग्रीको प्याकेज वितरण गरेका छन् । हात्तीको आक्रमणबाट क्षति भएका १८ घरपरिवारलाई खाद्य सामग्री प्याकेज वितरण गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीका अध्यक्ष अशाेक श्रेष्ठले बताए । घटनास्थलमै पुगी नगर प्रमुख घनश्याम राउत, एमालेका नेता डम्बर कार्की, कांग्रेसका नेता बलराम कार्की, माओवादी केन्द्रका नेता विनोद विश्वकर्मा, वडाध्यक्ष कुमार लामा, टाडी रेडक्रस उपशाखाका सभापति टुकबहादुर पोखरेलसहितको उपस्थितिमा सामग्री वितरण गरेको उनले बताए ।
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);