बागलुङकाे विकट गाउँमा उच्चगतिको फाेरजी इन्टरनेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बागलुङकाे विकट गाउँमा उच्चगतिको फाेरजी इन्टरनेट

बागलुङ । बागलुङ बडिगाड गाउँपालिका-४ जलजला र वडा-८ रणसिंहकिटेनीका बासिन्दा १० वर्षदेखि मोबाइल सेवा उपभाेग गर्दै आइरहेका छन् । माेबाइल फोन चलाउन थालेकाे एक दशकपछि उनीहरूले बल्ल उच्चगतिको इन्टरनेट सेवा (फोर जी) चलाउने अवसर पाएका छन् ।

नेपाल टेलिकमले दुई वडाको संगमस्थल बेतथलाकाे धुरीमा २५ मिटर अग्लो टावर निर्माण गरेपछि फोर जी सेवा सुरू भएकाे नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए । रणसिंहकिटेनी जिल्ला सदरमुकामदेखि २८ कोष टाढा पर्छ । टेलिकमले सो स्थानमा जेठ २०६७ देखि पहिलो पटक २जी र २०८७ सालमा ३जी सेवा विस्तार गरेको थियो । नेपाल टेलिकमका सेवाग्राहीलाई उच्चगतिको इन्टरनेट डाटा सर्भिस र गुणस्तरीय भ्वाइस सेवा प्रदान गर्न चौथो पुस्ताको ४जी सेवा सुरू भएको कार्यालय प्रमुख शर्माले बताए । 

यसअघि सो स्थानमा १८ मिटरको पोल टावरबाट २जी र ३जी सेवा सञ्चालन गरिएको थियो । उक्त धुरी समुन्द्री सतहदेखि दुई हजार पाँच सय मिटरको उचाइमा छ । उक्त टावरबाट बडिगाड-४ जलजला, वडा-७ भिमगिठे, वडा-८ रणसिंह किटेनीसँगै छिमेकी जिल्ला गुल्मीको मुसिकोट नगरपालिका, मदाने गाउँपालिकाको अधिकांश भु-भागमा उच्च गतिको इन्टरनेट चल्नेछ । 

उच्च गतिको इन्टरनेट सेवा विस्तार भएपछि अनलाइन काम गर्न सजिलो भएको वडा-८ का  वडाअध्यक्ष यमबहादुर श्रीष थापाले बताए । स्वास्थ्य चौकी, किटेनी माध्यमिक विद्यालय र वडा कार्यालयमा प्राइभेट इन्टरनेट सेवा त छ तर आउने जाने गर्दा समस्या थियो,’ उनले भने ‘अब समस्या हुँदैन भन्ने लाग्छ ।’ 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);