तीन जिल्लाको संगम ‘पातिहाल्ने’मा टेलिकमको सेवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तीन जिल्लाको संगम ‘पातिहाल्ने’मा टेलिकमको सेवा

बागलुङ । तीन जिल्ला बागलुङ, रोल्पा र रुकुमको संगम हो तिलाचन धुरी ।

मध्यपहाडी लोकमार्ग विस्तार र स्तरोन्नती भएपछि तिलाचन धुरी पर्यटकीय गन्तव्यको रुपमा विकास भैरहेको छ । कुनै दिन चराचुरुङ्गी, जंगली जनावर र गोठालाको मात्रा चहल पहल हुने तिलाचान धुरीमा मध्यपहाडी लोकमार्ग कालोपत्रे भएपछि तीन जिल्लाको दृश्य अवलोकन गर्न रुची राख्ने आन्तरिक पर्यटक त्यहाँ पुग्न थालेका छन् । 

पर्यटकको चाप बढ्दै गएपछि नेपाल टेलिकम बागलुङले उपभोक्ताको मागलाई ध्यानमा राखेर तिलाचन धुरीमा उच्च गतिको इन्टरनेट सेवा सञ्चालन हुने गरी विटिएस टावर स्थापना गरी टेलिकम सेवा विस्तार गरेको हो । समुद्री सतहदेखि ३ हजार ४ सय मिटर उचाईमा अवस्थित तिलाचन धुरी ‘पातीहाल्ने’  नामले परिचित छ । 

मध्यपहाडी लोकमार्गको विस्तार र स्तरोन्नतीसँगै अहिले त्यहाँ गाडी र मानिसको भिड्भाड बढन थालेको छ । आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयबासीलाई लक्षित गरी नेपाल टेलिकमले पहिलो पटक मोबाइल सेवा सञ्चालनमा ल्याएको हो ।

बागलुङको निसीखोला गाउँपालिका–६ स्थित तिलाचन धुरी (पातीहाल्ने) मा टेलिकमले स्थायी संरचना निर्माण गरी मोबाइल सेवा टुजी र फोरजी एकसाथ शुभारम्भ गरेको टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।

टेलिकमले ग्रामीण र दुरदराजका बस्तीसँगै लोकमार्ग आसपासका क्षेत्रमा आफनो सेवालाई निरन्तर विस्तार र स्तरोन्नती गर्ने योजना अनुरुप २५ मिटर अग्लो बिटिएस टावर निर्माण गरेको हो । 

यसअघि सो क्षेत्रमा मोबाइल सेवा थिएन । जसका कारण त्यहाँका स्थानीयबासी, मध्यपहाडी लोकमार्गको निसी भल्कोटदेखि पूर्वी रुकुमको भुमे गाउँपालिका हुँदै यात्रा गर्ने यात्रु र रोल्पाको सुनछहारी गाउँपालिकाका बासिन्दा मोबाइल र इन्टरनेट सेवाबाट वञ्चित थिए । 

मध्यपहाडी लोकमार्ग भएर धेरै उपभोक्ता ओहोरदोहोर गर्ने भएकाले टेलिकमले सेवा विस्तार गरेको हो । भौगोलिक विकटता र अनेकौं समस्याका बाबजुद जनप्रतिनिधि, स्थानीयको सहकार्यमा सेवा पुर्‍याउन सफल भएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);