नाका बन्द भएपछि सीमावर्ती बजारका व्यापारी पलायन हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नाका बन्द भएपछि सीमावर्ती बजारका व्यापारी पलायन हुँदै


कपिलबस्तू, २० माघ । कोरोना कहरको असर सबै क्षेत्रमा परेको छ । महामारीका बेला गरिएको बन्दाबन्दीका कारण धेरैले रोजगारी गुमाए भने व्यापार समेत गर्न पाएनन् । लामो समयदेखि सीमानाका बन्द हुँदा सीमा क्षेत्रका व्यापारी पलायन हुन थालेका छन् । कोरोना कहरका कारणले व्यापार व्यवसाय चौपट बनेपछि भारतसँग सीमा जोडिएको कपिलबस्तूको मर्यादपुरका व्यापारी पलायन हुन थालेका हुन् ।

मर्यादपुरका कतिपय व्यापारीले आफूहरु पलायन भएको बताएका छन् । सीमानाका नखुल्दा पलायन हुनुपरेको स्थानीय व्यापारी राजमन मिश्राले बताउँछन् । लामो समयसम्म मर्यादपुरमा आफ्नो व्यापार कोरोना कहरले ठप्प भएपछि सो ठाउँबाट सरेर हाल तौलिहवा पुगेको उनको भनाइ छ । उनले भने, “नाका बन्द हुँदा व्यापार चौपट भयो, हाल यतै सानोतिनो व्यापार गर्दैछु ।”

मर्यादपुर बजारका व्यापारीको विगतमा भने राम्रो व्यापार चलेको थियो । सीमावर्ती बजार भएकाले भारतको सिद्धार्थनगर जिल्लाका ग्राहक नेपाली सामान किन्न आउने गरेका थिए तर अहिले सीमानाका बन्द भएकाले व्यापारी सङ्कटमा परेका हुन् । गएको चैतदेखि सीमानाका बन्द भएसँगै भारतीय ग्राहकमा निर्भर रहेको मर्यादपुर बजार पूर्णरुपमा बन्द रहेको यशोधरा गाँउपालिका ७ का वडा अध्यक्ष चन्द्र प्रकाश दुबेले बताए बताउँछन् ।

उनले भने, “नेपाली सामग्री किन्नका लागि भारतको गोरखपुरबाट समेत ग्राहक आउने गरेका थिए तर कोरोनाको महामारीले नाका बन्द भएपछि ग्राहक आउन सकेका छैनन् ।”नाका बन्द भएपछि मर्यादपुरमा ११ भन्दा बढी व्यापारीको व्यापार व्यवसाय चौपट भएको छ । चैतदेखि नै पसल बन्द गरेर घरमा बस्नुपरेको होटल व्यापारी बालेदिन गुप्ताले गुनासो सुनाए । उनले भने, “तयारी कपडा किन्नका लागि भारतीय ग्राहक आउने गर्दथे ।

खास गरेर हिउँदको समयमा धेरै ग्राहक आउने गर्दथे । अहिले सीमानाका बन्द भएपछि व्यवसाय पूरै खस्किएको छ ।”सीमानाका खुला भएको समयमा नेपाली भारतीय बजारमा जाने र भारतीय नेपाली बजारमा आउने गरेका छन् तर नाका बन्द भएपछि दुवैतिरको व्यापार व्यवसाय ठप्प छ । भारतीय व्यापारीको मुख्य बजार नेपालको क्षेत्र भएकाले यो खुनुवा बजारसमेत सुनसान बनेको भारतीय पत्रकार अनिल श्रीवास्तवले बताउँछन् ।

उनले भने, “सीमावर्ती दुवै देशका व्यापारीलाई निकै समस्या रहेको छ । सीमानाका बन्द हुँदा व्यापार व्यवसाय चौपट भएको छ ।”सीमानाका खोल्नुपर्ने माग गर्दै भारतीय व्यापारीले आन्दोलनसमेत गर्दै आएका छन् । केही दिनअघि उनीहरुले सीमा पुलमै धर्ना दिएर आन्दोलन गरेका थिए । मर्यादपुर नाका खोल्ने निर्णय नेपाल सरकारले गरेको भए पनि भारतीय पक्षले सोमबार सम्म सहमति जनाएको छैन ।

नेपाल सरकारले नाका खोलेको भए पनि भारतीय पक्ष भने नाका खोल्न सहमत नरहेको कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले जानकारी दिए ।उनले भने, “नाका खोल्ने विषयमा हामीले नेपाल सरकारको निर्णयसहित जानकारी गराइसकेका छौँ । नेपाल सरकारले नाका खुला गरेको भए पनि यसमा भारतीय पक्ष सहमत भएको छैन ।”

लामो समयदेखि नाका बन्द हुँदा सीमावर्ती बजारका व्यापारीले भने व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएको बताएका छन् ।नेपाल सरकारले भारतसँग सीमा जोडिएका कपिलबस्तु जिल्लाको मर्यादपुर नाका खोल्ने निर्णय गरिसकेको छ । यसअघि मर्यादपुर नाकामा अत्यावश्यक काम परेकाका लागि खेतबाटो हुदै आवतजावत गर्न दिइएको थियो । अब भने नियमितरुपमा सञ्चालनमा आउने साशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मर्यादपुरका ईन्चार्ज शंकर सिंह सिखले जनाएका छन ।


कोरोनाको जोखिमबाट जोगिन स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाई सीमानाकामा आवतजावत गर्न दिइने भएको हो । तर भारत सरकारले भने यसअघि पनि नाका खोल्न सहमत नदेखिएकाले अझै पनि कहिले सहमत हुने भन्ने टुङ्गो नलागेको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ ।उनले भने, “नेपाल सरकारले गरेको निर्णयसहित भारतीय पक्षलाई पत्राचार गर्छौं, भारतले सहमति जनाएको दिनदेखि नै नाका नियमित सञ्चालनमा आउँछ ।”

नाका पुनः सञ्चालनमा आएपछि सीमावर्ती बजारको व्यापारले गति लिने तौलिहवा उद्योग वाणिज्य सङ्घ अध्यक्ष गया दिन कुर्मीले बताउँछन् । उनले भने, “नाका बन्द हुँदा खस्किएको व्यापार व्यवसाय नाका नियमितरुपमा सञ्चालनमा आएपछि सहज हुने विश्वासमा छौँ ।”कोरोना महामारीका कारण ठप्प रहेको जिल्लाभित्रको व्यापार व्यवसाय पछिल्लो समय लयमा फर्किदै गएको छ ।

कोरोनाको जोखिम हुन नदिन सरकारले गएको चैत महीनादेखि बन्दाबन्दी घोषणा गरेसँगे तौलिहवामा पनि सबै व्यापारिक कारोवार प्रायः ठप्प रहेको थियो । पहिल्ला केही महीनादेखि बन्दाबन्दी खुकुलो गर्दै व्यापार व्यवसाय यातायात खोल्ने सरकारको निर्णयपछि भने यहाँको बजार पनि खुलेका हुन् । बजार खुलेसँगै व्यापार व्यवसाय पनि लयमा फर्किन थालेको बताइएको छ ।

“कोरोना कहरले गर्दा निकै घाटा व्यहोरेका यहाँका व्यापारीको व्यापारिक कारोवार बल्ल ठीक ठाउँमा आउँदैछ, सङ्घका अध्यक्ष कुर्मीले भने, “व्यापार व्यवसायले पनि गति लिँदै गएको छ हाल बजार क्षेत्रमा पनि किनमेल गर्नेको भीडभाड विस्तारै बढ्दै गएको छ ।” सीमानाका सञ्चालनको बेला दुवै देशका नागरिक वारिपारि सामग्री किनमेल गर्न आवतजावत गर्ने गर्दर्थे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);