काठमाडौँ ।
नेपाली काँग्रेसका नेता श्याम घिमिरेले पार्टीभित्र सबै पक्षलाई समेटेर सम्मानजनक एकता कायम गर्न नेतृत्वलाई आग्रह गर्नुभएको छ । वागमती प्रदेशस्तरीय विशेष भेलालाई सम्बोधन गर्दै नेता घिमिरेले वर्तमान संस्थापन पक्षले एकलौटी ढंगले अघि बढ्न खोजे आगामी निर्वाचनमा पार्टीले थप गम्भीर क्षति व्यहोर्नुपर्ने चेतावनी दिनुभएको हो । सम्बोधनका क्रममा नेता घिमिरेले आफूहरूको उद्देश्य पार्टी विभाजन नभई समग्र काँग्रेसलाई एकढिक्का बनाउनु रहेको प्रष्ट पार्नुभयो । वर्तमान केन्द्रिय समितिको वैधतामाथि प्रश्न उठाउनु भयो ।
नेता घिमिरेले नेतृत्वले ‘पिक एण्ड चुज’ को नीति अपनाएर आफू अनुकूलका व्यक्तिहरूलाई मात्र केन्द्रिय समितिमा मनोनयन गरेको आरोप लगाउनु भयो । पछिल्लो समय गरिएको १९ जनाको नियुक्तिले पार्टीमा सबैलाई समेट्ने संकेत नदेखाएको उहाँको तर्क छ ।पार्टी एकताका लागि प्रश्ताव पेश गर्दै उहाँले विगतमा गिरिजाप्रसाद कोईरालाले नेपाली काँग्रेस र नेपाली काँग्रेस (प्रजातान्त्रिक) बीच गरेको एकताको मोडल अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान केन्द्रिय समितिलाई ‘महाधिवेशन तयारी समिति’ मा रूपान्तरण गरी सबै पक्षको सम्मानजनक प्रतिनिधित्व गराउन सुझाव दिनुभयो । आफ्ना मागहरूलाई बेवास्ता गरिए वैकल्पिक निर्णयमा पुग्न बाध्य हुने संकेत गर्दै उहाँले कार्यकर्ताहरूको रगत र पसिनाले बनेको पार्टीलाई सुदृढ बनाउन सामूहिक भावनाको खाँचो रहेको औंल्याउनु भयो । नेता घिमिरेले संस्थापन पक्षलाई निषेधको राजनीति त्यागेर संवाद र सहमतिको मार्गमा आउन आग्रह समेत गर्नुभयो ।




