अमेरिकामा हुनेभन्दा बढी अम्दानी गाउँमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अमेरिकामा हुनेभन्दा बढी अम्दानी गाउँमै

krishi

काठमाडौं, १८ मंसिर । दोलखाको भीमेश्वर नगरपालिका रामकोटका किसान माधवप्रसाद न्यौपानेले तरकारी खेतीबाटै भएको आम्दानीले घर व्यवहार चलाएका छन् ।

बजारको मागअनुसारको बेमौसमी तरकारी फलाउन सफल किसान न्यौपानेले तरकारी उत्पादनबाट वार्षिक १८ लाख रुपियाँसम्म कमाउने गरेका छन् ।

१० रोपनी जग्गामा गोलभेँडा, आलु, लसुन, प्याज, काउली, सागपातलगायतको तरकारी उत्पादनमा तल्लिन किसान न्यौपानेले सबैभन्दा बढी आलु र गोलभेँडा बिक्री गर्ने गरेको बताए ।

उनले भने, ‘वर्षमा आलु तीन पटक, गोलभेँडा दुई पटक र सागपात सधैंभरी उत्पादन गरेर बेचिरहेको छु । एक सिजनमा कम्तीमा छ लाख रुपियाँसम्म कमाइ हुने गरेको छ । तीन सिजनको तरकारी मैले बेच्दा कम्तीमा २० लाख जति त बचाउने गरेको छु ।’

१२ कक्षासम्म अध्ययन गरेर जागिरे जीवन पनि सुरु गरेका न्यौपानेले जागिरले घर व्यवहार चलाउन नसक्दा तरकारी खेतीमा लागेको बताए । २०६८ सालबाट तरकारी खेती सुरु गरेका न्यापानेले तरकारीको आम्दानीबाटै आमाबुबा, छोराछोरी र श्रीमतीसहित ६ जनाको परिवार धानेका छन् ।

उनले तरकारी खेतीबाट भएको आम्दानीले साढे दुई तलाको पक्की घर बनाउनुका साथै जमिनसमेत जोडेका छन् । दैनिक १० देखि १२ घण्टासम्म खेतबारीमै समय बिताउँदा विदेशको भन्दा दोब्बर कमाइ हुने भएकालेले पनि आफूलाई विदेश जाने रहर नजागेको बताए । उनले भने, ‘मिहिनेत गरे यही अमेरिकाभन्दा बढी कमाइ हुन्छ भने किन विदेश जाने ?’

तरकारीमा विषादी प्रयोग नगर्नुका साथै गाईभैँसी र कुखुराको गोठे मल प्रयोग गरेर आर्गनिक तरकारी उत्पादन गर्दा बजारमा आफ्नो तरकारीको माग निकै बढी हुने गरेको उनी बताउँछन् ।

न्यौपाने एग्रिकल्चर पशुपक्षी तथा कृषि फार्म दर्ता गरेर तरकारी खेतीमा लागेका न्यापानेले हिउँदमा सिँचाइको व्यवस्थापन गर्न नजिकैको पाटीखोलाबाट पाइपमा पानी ल्याएका छन् । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);