हेलिकोप्टर दुर्घटना : ६ को मृत्यु, एकको जिवितै उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

हेलिकोप्टर दुर्घटना : ६ को मृत्यु, एकको जिवितै उद्धार

काठमाडौं, २४ भदौ । जापानी पर्यटकसहित यात्रु बोकेर गोरखाबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर शनिबार नुवाकोटको मुइलाम्रा हिमाली भेगमा दुर्घटना हुँदा चालकसहित ६ जनाको ज्यान गएको छ । एक महिलाको जिवितै उद्धार गरिएको छ ।

सदरमुकाम विदुरदेखि ४० किलोमिटर पश्चिममा रहेको म्यागङ गाउँपालिका–४ मुइलाम्राको गुराँसे पहाडको जंगलमा अल्टिच्युड एयरको नाइनएन एएलएस कलसाइनको ६ सिट क्षमताको हेलिकोप्टर दुर्घटनामा परेको हो ।

हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका दिल्लीबहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखा चुमनुब्री–२ का ल्हो आनि डोल्मा निकी, चुमनुब्री–१ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका सुनील तामाङ र चालक निश्चल केसी सवार थिए । गोरखाकी डोल्मा निकीलाई घाइते अवस्थामा उद्धार गरिएको नुवाकोट प्रहरीले जनाएको छ ।

घाइते डोल्मा निकीले टेलिफोन गरी हेलिकोप्टर दुर्घटनाबारे जानकारी दिएकी थिइन् । निकीले हेलिकोप्टर दुर्घटनालगत्तै आफू घाइते भएको र उद्धार गर्न अनुरोध गर्दै फोन गरेको विमानस्थल कार्यलयका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए । घाइतेलाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौंको मेडासिटी हस्पिटल लगिएको थियो । घाइते निकीलाई स्थानीय, जनप्रतिनिधि तथा सुरक्षाकर्मीले उद्धार गरेको म्यागन गाउँपालिकाका कर्मचारी मच्छिन्द्र प्याकुरेलले जानकारी दिए । घाइते ल्हो आनीलाई उद्धारकर्ताले एक घण्टा बोकेर उद्धारमा गएको हेलिकोप्टरसम्म ल्याएका थिए ।

गोरखा सामागाउँबाट बिहान सात बजेर ५६ मिनेटमा उडेको उक्त हेलिकोप्टर नुवाकोट र धादिङको सिमानामा आइपुगेपछि सम्पर्कबिहीन भएको थियो । बिहान आठ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसहित अवतरण गर्नुपर्ने उक्त हेलिकोप्टर विमानस्थलको टावरसँग आठ बजेर पाँच मिनेटपछि सम्पर्कविच्छेद भएको विमानस्थलका प्रवक्ता तिवारीले जानकारी दिए ।

दुर्घटनास्ग्रस्त हेलिकोप्टर मुइलाम्राको घना जंगल खोंचमा टुक्राटुक्रा अवस्थामा फेला परेको घटनास्थल पुगेको म्यागङ गाउँपालिकाका–४ का वडाध्यक्ष कमलबहादुर तामाङले जानकारी दिए । दुर्घटनास्थलमा चालकसहित पाँचै जनाको शव फेला परेको थियो । हेलिकोप्टर पछाडिको भाग टुक्राटुक्रा भएको छ । सिमसिम पानी परेका कारण दुर्घटनामा परेको हेलिकोप्टरमा आगो भने लागेन ।

दुई हजार मिटर उचाइमा रहेको गुराँसे पहाडमा कुहिरो लागेको बेला हवाइमार्ग पहिचानमा समस्या हुँदा ठोक्किन पुगेको हवाई प्राविधिकको अनुमान छ । दुर्घटनाको जानकारी पाउने वित्तिकै जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट डीएसपी भीमलाल भट्टराईसहितको टोली म्यागङको मुइलाम्रा जंगल पुगेको थियो । प्रहरी, सेना तथा स्थानीयको टोली दुई घण्टा पैदल हिँडेर घटनास्थल पुगेका थिए । दुर्घटनास्थलमा बाक्लो कुहिरो लागेर पानी परिरहेका कारण उद्धारमा समस्या आएको थियो । दुर्घटनास्थलमा उद्धारका लागि काठमाडौंबाट गएको हेलिकोप्टर अवतरण गर्न कठिनाई हुँदा घाइतेको उद्धारमा पनि समस्या आएको थियो । दुर्घटनालगत्तै दुर्घटनास्थल वरिपरि उद्धारका लागि हेलिकोप्टर पुगे पनि ती हेलिकोप्टर अवतरण गर्न नसक्दा आकाशमै घुमिरहेका थिए ।

दुर्घटनाको जानकारी पाए लगत्तै विदुर, देउराली प्रहरी चौकीबाट प्रहरी तथा उद्धारकर्ताको टोली परिचालन गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए । आठ घण्टापछि दुर्घटनास्थल पहिचान दुर्घटनाको आठ घण्टापछि घटनास्थलवाट ल्हो आनीलाई उद्धारकर्ताले उद्धार गरेका हुन् । ल्हो आनी स्वयंले आफू चढेको हेलिकोप्टर दुर्घटनामा परेको खवर गरेकी थिइन् । बिहान आठ बजेर पाँच मिनेटमा विमानस्थलसँग सम्पर्क भएको हेलिकोप्टर दुर्घटनास्थलको पहिचान दिउँसो ३ बजेमात्र भएको थियो ।

दुर्घटनास्थल मुइलाम्रा जंगलमा बाक्लो कुहिरो लागिरहेको र पानी परिरहेको कारण दुर्घटनास्थल पहिचान गर्न कठिनाई भएको दुर्घटनास्थल पुगेकी म्यागङ गाउँपालिका उपाध्यक्ष शान्ति लामाले बताइन् । उच्च भेगमा एयर संकेतका आधारमा हेलिकप्टर गस्तीका आधारमा घटनास्थल पहिचान गर्न सफल भएको म्यागङ गाउँपालिका–४ का वडाध्यक्ष कमलबहादुर तामाङले बताए । समयमै घटनास्थल पहिचान गरी पुग्न सकेको भए अन्य यात्रुलाई पनि जिवितै उद्धार गर्न सकिने अवस्था आउने उनले बताए ।
‘घाइतेको भीरबाट उद्धार’
बिहान ११ बजे सेमजोङको आकाशमा निकै तलबाट हेलिकोप्टर आएपछि मात्रै हामीले दुर्घटनाबारे थाहा पाएका थियौं । बेपत्ता हेलिकोप्टर खोज्न गाउँ नजिकैबाट हेली आएको रहेछ । बर्सुङचेतको जंगलमा हेली फेला प¥यो भनेपछि हामी त्यतै गएका हौं । हामी पुग्दा बर्सुङचेतबाट केही प्रहरी र स्थानीय आइसकेका थिए । ३ जनाको शव हेलिकोप्टर भित्रै थियो ।

१ को शव दुर्घटनाग्रस्त हेलिकोप्टर भन्दा १० मिटर जति पर, अर्को एउटा शव ५० मिटर जति पर फेला परेको हो । रूखको हाँगाबिंगामा ठोक्किएर हेलिकोप्टर पुरै क्षतिग्रस्त भएको छ । विस्फोट हुने डरले हेलिकोप्टरको नजिक कोही जान सकेनन् । घाइते महिलालाई दुर्घटनास्थल भन्दा करिब १ सय ५० मिटर जति तल लहरामा अड्केको अवस्थाबाट हामीले उद्धार गरेका हौं । उनलाई उपचारका लागि पठाउन केही पर लगेर राखिएको थियो । म गाउँबाट २ घण्टा हिँडेर घटनास्थलमा पुगेको हुँ । म ४ बजेतिर घटनास्थलबाट फर्किंएको हुँ । आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);