व्यवस्थित पार्क निर्माण गर्न सर्वसाधरणको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

व्यवस्थित पार्क निर्माण गर्न सर्वसाधरणको माग

park

अप्सरा लामिछाने
काठमाडौं, २९ जेठ
। काठमाडौँ उपत्यकालाई स्मार्ट सिटी बनाउने सपना बाँडिएको छ । तर, व्यवस्थित सहरीकरणको सवालमा भने सम्बन्धित निकायले प्रभावकारी प्रयास गरेको पाइँदैन । ठूला ठूला सपना बाँड्न छाडेर पूरा हुने र सम्भव खालका योजना कार्यान्वयनमा लैजानुपर्नेमा विज्ञहरुले जोड दिँदै आएका छन् । सर्वसाधरणले भने गर्मी छल्न वा कोलाहलबाट एकैछिन एकान्तमा रमाउन ठाउँठाउँमा पार्क निर्माण गरिदिन माग गरेका छन् ।

काठमाडौ उपत्यकामा बसोबास गर्नै मानिसको जनसंख्या ४४ लाख नाघिसकेको छ । यो संख्या बढ्दो छ । स्मार्ट सिटीका कुरा गरेपनि बढ्दो जनसंख्याअनुसार सेवासुविधाको विस्तार गर्नै सरकारलाई हम्मे हम्मे परेको छ । उपत्यकाबासीका लागि बस्ने, घुम्ने व्यवस्थित सुविधायुक्त पार्क कमै मात्र बनेका छन । सार्वजनिक विदा साथै विभिन्न पर्वहरुमा रमाइलो गर्ने, बस्ने सुरक्षित पार्कको खोजीमा उपत्यकाबासी भौतारिरहेका हुन्छन् ।

सन् २००१ मा नेदरल्यान्डमा गरिएको अध्ययनले बसोबास स्थल वरिपरि १० प्रतिशत मात्र हरियाली बढायो भने पनि मानिसको आयु पाँच वर्ष थपिने गरी स्वास्थ्य समस्या घट्ने देखाएको थियो । पार्क संसारभर सहरका अभिन्न अंग बन्न थालेका छन् । नयाँ पार्क बनाउने, पुराना पार्क पुर्नस्थापना र विस्तार गर्ने अभियान चलेको छ ।

उपत्यकामा अहिले शंख पार्क, बालाजु पार्क, रानीवन पार्क, रत्नपार्क, युएन पार्क र त्रिभुवन पार्क गरी ६ वटा ठूला पार्क छन् भने ३० भन्दा बढी साना पार्क रहेका छन् । तर जती पनि पार्क निर्माण हुनुपर्ने हो त्यसमा सरकारले खासै चासो देखाएको छैन । स्थानीय र अधिकार सम्पन्न बाग्मती सभ्यता एकिकृत विकास समितिले बागमती किनारहरुमा ८ वटा पार्क निर्माण गरेको छ । अहिले तिनै पार्कहरुमा सर्वसाधारणको भिड देख्न सकिन्छ ।

कुनै पनि सहरको पर्यावरण, त्यहाँका मानिसको शारीरिक तथा मानसिक स्वास्थ्य, त्यो सहरको शोभा र सभ्यतासँग पार्क जोडिने गर्दछ । सरकारले नयाँ पार्कहरु निर्माण गरी पार्कहरु थप्ने कुराहरु उठाइरहेको हुन्छ तर भएका पार्कहरुलाई पनि व्यवस्थित गर्न सकेको छैन । काठमाडौंमा रुख रोपिएको छैन । सहरमा हरियाली छैन । सरसफाइ छैन । पार्कको यति धेरै फाइदा छ, तर पनि निर्माणमा चासो देखाइएको छैन । आजका दिनमा काठमाडौंका लागि सबैभन्दा ठूलो विकास नै पार्क र हरियाली हो । त्यसैले पार्क निर्माणमा ध्यान दिन जरुरी छ ।

०००

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);