एकताको भोलिपल्टै नेकपामा देखियो असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०७९, बुधवार

एकताको भोलिपल्टै नेकपामा देखियो असन्तुष्टि

OLI_DAHAL

काठमाडौं, ५ जेठ । नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पदभार ग्रहण गरेका छन् । पार्टी एकता भएको भोलिपल्ट शुक्रबार ओली र दाहालले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

ओली र दाहालले सुरुमा तत्कालीन नेकपा एमालेको र त्यसपछि तत्कालीन माओवादी केन्द्रको कार्यालयमा पदभार ग्रहण गरे । पदभार ग्रहण गर्नुपहिले ओलीले जनयुद्धमा ज्यान गुमाएका तत्कालीन माओवादीप्रति तत्कालीन माओवादीको कार्यालय परिसरमा श्रद्धाञ्जली व्यक्त गरे ।

ओली र दाहालसँगै दुवैतिरका कार्यालयमा गरिएका कार्यक्रममा कम्युनिष्ट पार्टीका सचिवालय सदस्य माधवकुमार नेपाल, वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र विष्णु पौडेल सहभागी थिए । तर, रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेल भने अनुपस्थित थिए । विष्णु पौडेललाई महासचिवको जिम्मेवारी दिएको असन्तुष्टिस्वरुप पोखरेल अनुपस्थित भएको स्रोतहरुले बताएका छन् ।

तत्कालीन माओवादी केन्द्रको कार्यालयमा गरिएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले सबै कम्युनिष्टहरुलाई आफ्नो पार्टीमा आउन आव्हान गरे । उनले देशव्यापी संगठन र कार्यकर्ता रहेका एमाले र माओवादी केन्द्र मिलेको अवस्थामा कार्यालयसमेत नरहेका कम्युनिष्टहरुले एकताका लागि हिच्किचाउन आवश्यक नरहेको बताए । उनले मर्यादा कायम हुने गरी पद दिनका लागि तयार रहेको भन्दै विचार ठूलो कुरा नभएको बताए ।

ओलीले पार्टी एकतासँगै अब तीब्र गतिमा मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउने बताए । कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि समृद्धिको अभियान अब तीब्र वेगका साथ अगाडि बढ्ने बताए ।