नेकपामा नेता व्यवस्थापनको विषय पेचिलो बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपामा नेता व्यवस्थापनको विषय पेचिलो बन्दै

Maoist-uml-Unification

सरोज थापा
काठमाडौं, ६ जेठ
। नवगठित नेपाल कम्युनिष्ट पार्टीमा नेता व्यवस्थापनको विषय पेचिलो बनेको छ । मर्यादाक्रममा केही नेता असन्तुष्ट रहेको बताइन्छ । त्यसैले पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल सजिलो उपायको खोजीमा छन् ।

पार्टी घोषणाको भोलिपल्टै अर्थात गत शुक्रबार ओली र दाहालले अध्यक्षका रुपमा पदभार ग्रहण गर्दै गर्दा रक्षामन्त्रीसमेत रहेका नेता इश्वर पोखरेल अनुपस्थित रहे । सचिवालयमा विष्णु पौडेललाई महासचिवको जिम्मेवारी दिइएको विषयमा उनी सन्तुष्ट नरहेको स्रोतको दाबी छ । किनकी, विगतमा पार्टीको मर्यादालाई आधार बनाइएको भए पौडेल एकीकृृत पार्टीको महासचिव हुने सम्भावना थिएन ।

अर्कोतिर झलनाथ खनाल पनि एकीकृत पार्टीको वरियताप्रति सन्तुष्ट छैनन् । यसअघि उनी ओलीपछिका वरिष्ठ नेता थिए । तर, पार्टी एकतापछि उनी अर्का वरिष्ठ नेता माधवकुमार नेपालभन्दा पनि तल पर्दै नेकपाको अहिले चौथो वरीयतामा पुगेका छन् । एकीकृत पार्टीमा नयाँ भूमिका र वरीयताक्रम तय गर्दा कतिपय नेतालाई विगतमा भन्दा बढी प्रभावशाली स्थान मिल्ने र केही नेता भूमिकाका हिसाबले थप खुम्चिनुपर्ने स्थिति आउने निश्चित छ । यसकारण पनि केही दिन नेकपाका दुई अध्यक्षलाई नेताहरुलाई मनाउन सकस पर्नेछ ।

दुबै अध्यक्ष अब स्थायी कमिटीमा राख्ने नेताहरु चयन गर्दैछन् । तत्कालीन एमालेले विघटित पार्टीकै २२ जना स्थायी कमिटी सदस्य र चार जना आयोगका अध्यक्षलाई स्थायी कमिटी बनाउने गरी ४५ सदस्यीय स्थायी कमिटीमा २६ जना आफ्नो भागमा लिएको थियो । यस हिसाबले तत्कालीन माओवादीको भागमा १९ जना नेता स्थायी कमिटीमा पर्नेछन् । दुवै समूहकालाई राख्नुपर्ने भएकाले यहाँ पनि वरियता विवाद हुने देखिन्छ । त्यसमा पनि दाहालसहित शीर्ष तीन नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा पछि अन्य धेरैजसो नेता समान हैसियतमा छन् । त्यसभित्रबाट स्थायी कमिटीको सीमित संख्यामा नेता छनोट गर्न दाहाललाई अप्ठेरो पर्ने निश्चित छ । तर, यसमा खासै समस्या नहुने दाबी नेकपाका नेताहरु बताउँछन् ।

तत्कालीन माओवादी केन्द्रका रामबहादुर थापा पनि वरीयतालाई लिएर असन्तुष्ट छन् । उनी अहिले एकीकृत पार्टीको आठौं वरीयतामा छन् । त्यसो त, नेकपामा समावेशीताको विषय पनि पेचिलो बनेको छ । पार्टीको केन्द्रीय सचिवालयमा रहेका ९ जना सदस्य असमावेशी भएको भन्दै अहिलेदेखि नै असन्तुष्टिका स्वर सुनिन थालेको छ । त्यसैले पनि पदीय बाँडफाँड र समावेशीताको विषयले नेकपाका दुई अध्यक्षलाई केही समय सकस पार्ने राजनीतिक विश्लेषक भरत दाहालको ठम्याइ छ ।

नेपाली जनताको चाहानाअनुसार समृद्ध नेपाल निर्माण गर्छौँ भनी एउटै छातामुनि उभिएका नेताहरु पदीय बाँडफाँडमा रुमल्लिएर समय बिताए त्यो उनीहरुका लागि प्रत्युत्पादक हुनेछ । अहिले सबै नेताले धेरथोर त्याग गर्ने हो भने यो एकताले मुलुकलाई साँच्चै समृद्धिको दिशामा अग्रसर गराउने विश्वास गरिएको छ । त्यसैले भागबन्डाको विषयलाई लिएर नेकपाका नेताहरुको असन्तुष्ट स्वर जनताले सुन्न चाहेका छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);