काठमाडौं, ३ वैशाख । सरकारले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारमाथि लगाइएको अतिरिक्त शुल्क खारेज गर्ने निर्णय गरेको छ ।
बिहीबार संहदरबारमा पत्रकार सम्मलेन गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसिया जाने नेपाली कामदारमाथि अवैधानिक रुपमा लिने गरिएको अतिरिक्त शुल्क खारेज गर्ने निर्णय गरिएको जानकारी दिए ।
उनले अतिरिक्त शुल्क नलिने सरकारको निर्णय कार्यान्वयनका लागि मलेसिया सरकारलाई अनुरोध गर्न परराष्ट्र मन्त्रालयमार्फत् कूटनीतिक पहल गर्ने प्रक्रिया अघि बढाइएको स्पष्ट पारे ।
मन्त्री विष्टले सरकारको यो निर्णय कार्यान्वयन गर्न, गराउन पनि मातहतका निकायलाई सचेत गराए । मलेसिया जाने नेपाली कामदारमाथि भिसा बाहेकको शुल्क लिने सम्बन्धित निकायलाई कडा कार्बाही गर्ने मन्त्री विष्टले चेतावनी दिए ।
त्यसैगरी सरकारले एकपक्षीय रुपमा ३९ वटा स्वास्थ्य संस्थाहरुबाट मात्रै स्वास्थ्य परिक्षण गराउने प्रावधान हटाउने निर्णय गरेको छ ।
मन्त्री विष्टले स्वास्थ्य मन्त्रालयबाट मान्यता प्राप्त र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सूचिकृत भएका स्वास्थ्य संस्थाहरुबाट वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुको स्वास्थ्य परिक्षण गराउने व्यवस्था लागू गरिएको बताए । यस व्यवस्थाले स्वास्थ्य परिक्षणमा लगाइएको सिन्डीकेट अन्त्य हुने सरकारको विश्वास छ ।
मन्त्री विष्टले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन आवश्यक सबै खालको नीतिगत, संरचनागत निर्णय लिन प्रतिवद्ध जाहेर गरे ।