मोदीको भ्रमणलाई लक्षित गरी काठमाडौंका सडक रातारात कालोपत्रे | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

मोदीको भ्रमणलाई लक्षित गरी काठमाडौंका सडक रातारात कालोपत्रे

अप्सरा लामिछाने

काठमाडौं, २६ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लक्षित गरी काठमाडौंका सडक रातारात कालोपत्रे भइरहेका छन् । मोदीको सवारी हुने सडक रातारात कालोपत्रे भए पनि अन्य क्षेत्रको अवस्था भने उत्तै छ । धुलोधुवाँबाट आजित उपत्यकाबासीले भने सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।

आगामि शुक्रबार र शनिबार दुई दिने राजकीय भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै छन् । मोदीको स्वागतको लागि सरकारले भब्य तयारी गरेको छ ।

मोदीको भ्रमण हुने स्थालको सरसफाइ र रंगरोगन गरिएको छ भने रातारात सडक कालोपत्रे गरिँदै छ । पटक–पटक स्थानीयले आग्रह गर्दा पनि कालोपत्रे हुन नसकेको चावहिल–बौद्ध सडक खण्ड अहिले कालोपत्रे गरिएको छ ।

भ्रमणका क्रममा मोदी होटल हायातमा बस्ने भए पछि चावहिल देखि होटलसम्मको सडक कालोपत्रे गरिएको छ । तर, त्यसभन्दा उताको सडकको अवस्था भने उस्तै छ ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देखि होटल हायातसम्मको सडक, त्यहाँबाट राष्ट्रपती भवन शितलनिवास जाने सडक, शितलनिवास देखि प्रधानमन्त्री कार्यालय सिंहदरवारसम्मको सडक तथा संसदभवन नयाँ बानेश्वरसम्मको सडकलाई प्राथमिकतामा राखेर कालोपत्रे गरिएको छ ।

सर्वसाधारणले भने सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । विदेशी उच्च पदस्थ व्यक्ति आउँदा रातारात सडक कालोपत्रे गर्ने सरकारको काम देखावटी मात्र भएको उनीहरुको टिप्पणी छ ।

सडक विस्तारको क्रममा भत्काइएका अधिकांश क्षेत्रका सडक लामो समयदेखि कालोपत्रे हुनसकेको छैन । जसका कारण उपत्यकाबासी धुलो धुवाँबाट आजित छन् । त्यसो त अहिले कालोपत्रे गरिएको सडक खण्डमा पनि न त ढलको व्यवस्थापन गरिएको छ न नालाहरु नै बनाइएको छ । सडक विभागले भने सडक कालोपत्रेको काम मोदीको भ्रमणका लागि नभएर नियमित काम भएको दाबी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);