मोदी भ्रमणलाई लक्षित गरी जनकपुरका सडक रातारात मर्मत | ईमाउण्टेन समाचार

Our Network

भदौ २ २०७९, बिहीबार

मोदी भ्रमणलाई लक्षित गरी जनकपुरका सडक रातारात मर्मत

जनकपुरधाम, २६ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पाइला पर्ने क्षेत्र सिँगारेर चिटिक्क पार्ने क्रममा जनकपुरमा रातारात सडक मर्मत गरिएको छ ।

भत्किएको लामो समय बितेपनि विमान स्थलबाट जानकी मन्दिरसम्मको सडक बनाउन २४ घण्टा नै काम भइरहेको हो । बुधबार विहानदेखि परेको पानी तथा हावाहुरीको कारणले केही समय रोकिएपनि अहिले पुनः काम थालिएको छ ।

तर, बाटोमा भएको हिलोको कारण काम गर्न अवरोध भएको छ । सर्वसाधारणलाई आवत–जावत गर्न पनि कठिनाई भएको छ । जानकी मन्दिर जाने बाटो बनाउने काम पहिला देखि नै गरिए पनि दुई पटक रुट परिवर्तनको कुरा आएपछि अझै काम सम्पन्न हुन सकेको छैन ।

मोदी जनकपुर विमानस्थलमा शुक्रबार विहान ९ बजे आएपछि क्याम्पस चोक, विद्यापति चोक, विश्वकर्मा चोक, परिक्रमा सडक, रमानन्द चोक हुँदै जानकी मन्दिर पुगेर पुजा गर्ने कार्यक्रम छ ।

जानकी मन्दिरमा नेपालका प्रधानमन्त्री केपी ओलीसँगै संयुक्त पुजा गरेपछि मोदीलाई रंगभुमीमा नागरिक अभिनन्दन गरिनेछ । त्यसपछि उनी राजधानी काठमाडौँ जानेछन् ।