एकताको गाँठो फुकाउने ओली र दाहालको प्रयास असफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

एकताको गाँठो फुकाउने ओली र दाहालको प्रयास असफल

prachanda-and-kp-oli

काठमाडौं, ६ बैशाख । पार्टी एकताको गाँठो फुकाउने जिम्मा पाएका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा माओवादी अध्यक्ष दाहालले एकता प्रक्रिया लम्ब्याउन नहुने भन्दै भागबन्डाबारे देखिएको मतभेद मिलाउनुपर्नेमा जोड दिएका उनको निजी सचिवालयले जनाएको छ ।

दाहालले पार्टी एकताबारे विभिन्न आशंकाहरु उब्जिएको भन्दै छलफल र वार्तालाई परिणाममुखी बनाउनुपर्ने बताए । स्रोतका अनुसार दाहालले आफूलाई पार्टी एमालेमा विलय गराउन लागेको भन्दै चर्को दबाब आइरहेको समेत उनले ओलीलाई सुनाए । करिब दुई घण्टा भएको वार्तामा उनले सम्मानजनक एकता हुनुपर्ने कुरा पनि दोहोर्याए ।

ओलीले भने निर्वाचनमा प्राप्त जनमतका आधारमै सांगठनिक संरचना बनाउँदा एकता सम्मानजनक हुने जवाफ दिए । दुबै अध्यक्षले आफ्नो अडान कायमै राखेपछि छलफल निष्कर्षविहीन भएको हो । अनौपचारिक भनिएको भेटवार्तामा पार्टी एकताकै अल्झन हटाउने प्रयत्न गरिएको प्रधानमन्त्रीका सञ्चार सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

एमाले–माओवादीको पार्टी एकता संयोजन समितिले एकता प्रक्रियामा देखिएको गाँठो फुकाउने जिम्मा दुई अध्यक्षलाई दिएको छ । दुई पार्टीबीच एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य र जनयुद्धलाई महाधिवेशनमा टुंग्याउने सहमति भएपनि केन्द्रीय समितिको अनुपातबारे भने मतभेद छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);