किशन भण्डारी
काठमाडौं, ८ चैत । राष्ट्रिय फुटबल टोलीका केही खेलाडिबाहेक अन्य खेलाडीले घरेलु प्रतियोगिताबाहेक अन्य प्रतियोगितामा अवसर पाएका छैनन् । त्यसमाथि विगत ४ बर्ष देखि नेपालमा कुनै ए डिभिजन लिग आयोजना हुन नसक्दा खेलाडि अभ्यस्त हुनसकेका छैनन् । यस्तो अवस्थामा प्रतिष्ठाको लागि हुने यमनविरुद्धको खेल नेपालका लागि चुनौतिपूर्ण देखिन्छ ।
एएफसी कपको छनौट अन्तरगत समुह एपको अन्तिममा रहेकोे नेपाली फुटबल टोली छनोट हुने सम्भावना सकिएको छ । छनोट चरण अन्तर्गत हालसम्म खेलको ५ खेल मध्ये ३ खेलमा हार र दुईमा बराबरी भएको नेपालले अन्तिम खेलमा यमनसँग मार्च २७ मा खेल्दै छ । तथापी यो खेलको जित हारले कुनै प्रभाव नपारे पनि प्रतिष्ठाको खेल हुने छ । हालसम्म जित निकाल्न नसकेको नेपाली टोली अन्तिम खेलमा विजयी हुनेमा आशाबादी छ।
फुटबल प्रशिक्षण एवम् खेलाडीको खानपान र अन्य भौतिक पूर्वाधारका लागि सरकार खासै चासो देखाएको पाइदैन । आवश्यक पूर्वाधार नहुँदा खेलाडिको अभ्यास प्रभावित भएको छ ।
राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सम्हालिरहेका जापनिज कोच ग्योतोकु कोजी पनि खेलाडीहरुको प्रदर्शन प्रभावशाली हुन नसक्ने बताउँछन् । घरेलु टुर्नामेण्टमा व्यस्त रहेका खेलाडीहरु थकित छन् भने केही खेलाडी घाइते छन् । यता यमन पनि नेपाललाई हराएर छनौटचरण पार गर्ने दाउमा भएकोले खेलमा जित हात पार्न निकै चुनौती रहेको उनको भनाइ छ ।
यमनविरुद्ध हुने खेलका लागि खेलाडीहरु उत्साहित भएपनि प्रशिक्षकले चिन्ताप्रकट गरेका छन् । हुन त यो खेलले नेपालको छविमा केही असर नपर्ने भएपनि खेलाडीको मनोबलमा भने पक्कै असर पर्नेछ ।




