महिला लिगः चौथो चरणबाटै एपीएफलाई तीन अंकको अग्रता  | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

महिला लिगः चौथो चरणबाटै एपीएफलाई तीन अंकको अग्रता 

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दोस्रो संस्करणको राष्ट्रिय महिला लिग मोफसलमा सञ्चालन गरिरहेको छ । यसअघि एक हप्ते लिग हुँदै डबल राउन्ड रोबिनको आधारमा पहिलो पटक सञ्चालन भएको महिला लिग काठमाडौंमा समापन भएको थियो ।

दोस्रो संस्करणको डबल राउन्ड रोबिन लिग मोफसलमा लगेको एन्फाले पहिलो चितवनको शारदानगरमा र दोस्रो चरण विराटनगरको सहिद रंगशालामा आयोजना गर्दैछ । यसपटक लिगमा विभागीय तीन टोलीसहित विभिन्न स्थानीय टोली गरी आठ टोली छन् ।

शारदानगरमा जारी लिगमा चौथो चरणका खेल चलिरहेका छन् । दुई दिनमा एक राउन्ड सकिने तालिका छ । एक दिन विश्राम दिन रहेको छ ।

जारी लिगमा चार खेलमा सतप्रतिशत जित निकालेको सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब १२ अंकसहित शीर्षस्थानमा छ । चार खेलमा १९ गोल गरेर दुई गोल मात्रै बेहोरेको एपीएफ लगातार लिग जित्ने योजनामा छ । उसले चौथो चरणबाटै तीन अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको धनगढी उपमहानगरपालिकाको नौ अंक मात्रै छ । धनगढीले समेत चार खेल खेलिसकेको छ । यता, तीन खेल खेलेको पुलिस क्लबको ६ अंक छ । उसको जितले पनि नाै अंक मात्रै रहने छ ।

त्यसैले चौथो चरणबाटै एपीएफले लिग उपाधि योजनामा स्पष्ट तीन अंकको अग्रता बनाएको छ ।

राष्ट्रिय टोलीका अधिकांश खेलाडी जम्मा गरेको एपीएफ साविक लिग विजेतासमेत हो । उसले अघिल्लो लिगमा समेत दुई खेलअघि नै उपाधि आफ्नो नियन्त्रणमा राखेको थियो । गत सिजन लिगको अन्तिम दुई खेल खेल्दा घुँडाको चोट बोकेकी सावित्रा भण्डारी (साम्बा) रिकवरी हुँदै मैदान फर्कनु उसको लागि खुसीको कुरा हो ।

अघिल्ला तीन खेलमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेकी सावित्राले चौथो खेलमा चन्द्रपुर नगरपालिकाविरुद्ध भने सुरुआती एघारमा खेल्दै ह्याट्रिक पूरा गरिन् । त्यसअघि सावित्राले वालिङ नगरपालिकाविरुद्ध ४६ मिनेटमा मैदान प्रवेश गर्दै एक्लै चार गोल गरेकी थिइन् । यसपटक चार खेलमा उनको नौ गोल पुगिसकेको छ । गत वर्ष उनले लिगमा चोटअघि नै सर्वाधिक ४३ गोल गरेकी थिईन् ।

यसैपटक राष्ट्रिय लिगमा छनोट भएको धनगढी दोस्रो स्थानमा रहँदा एक खेल कम खेलको पुलिस एक हार र दुई जितसहित ६ अंक बनाएर तेस्रो स्थानमा छ । दुई हार र दुई जित निकालेको त्रिभुवन आर्मी फुटबल क्लब ६ अंकसहित चौथो स्थानमा छ । विराटनगर महानगरपालिका चार अंकसहित पाँचौ स्थानमा छ भने नयाँ टोली ललितपुर महानगरपालिका तीन खेलबाट तीन अंकसहित छैटौं स्थानमा छ ।

चन्द्रपुर नगरपालिका एक अंकसहित सातौ स्थानमा र वालिङ विना कुनै अंक पुछारमा छ । जारी लिगका लागि एन्फाले विदेशी खेलाडी हकमा चार खेलाडी स्विकृति दिए पनि विराटनगरले दुई भारतीय खेलाडी भित्र्याउनुबाहेक अन्य टोलीले विदेशी खेलाडी अनुबन्धन गरेका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);