महिला सशक्तीकरण : आत्मनिर्भरतातर्फ बढ्दै महिलाका पाइला | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १८ २०८३, बुधवार

महिला सशक्तीकरण : आत्मनिर्भरतातर्फ बढ्दै महिलाका पाइला

नेपाली समाजमा महिलाको सहभागिता पछिल्लो समय विभिन्न क्षेत्रमा बढ्दै गएको छ । महिलाको बढ्दो सहभागिताले समाजमा सकारात्मक परिवर्तनको सङ्केत देखाए पनि समान अवसर, निर्णय प्रक्रियामा सहभागिता र लैङ्गिक विभेदको अन्त्यका लागि अझै निरन्तर प्रयास आवश्यक छ।नेपाली समाजमा महिलाको भूमिका र सहभागितालाई हेर्ने दृष्टिकोण पछिल्लो समय परिवर्तन हुँदै गएको छ। कुनै समय महिलाको मुख्य जिम्मेवारी घरायसी कामकाज, बालबालिकाको हेरचाह र परिवारको व्यवस्थापन मात्र मनिने अवस्था अब छैन । शिक्षा, रोजगारी, राजनीति तथा सार्वजनिक निर्णय प्रक्रियामा महिलाको सहभागिता बढीरहेको छ ।

समयसँगै आएको सामाजिक चेतना, शिक्षाको विस्तार, कानुनी व्यवस्था र महिलाको निरन्तर सङ्घर्षले समाजमा महिलाको भूमिकालाई फराकिलो बनाउँदै लगेको छ । अहिले महिलाहरू घरपरिवारको जिम्मेवारी निर्वाह गर्नुका साथै समाज र राष्ट्रको विकासमा समेत सक्रिय योगदान दिइरहेका छन्।आज महिलाहरू विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा काम गरिरहेका छन्। आफ्नो क्षमता, सीप र योग्यताका आधारमा महिलाहरूले विभिन्न जिम्मेवारी सम्हालिरहेका छन । यसले महिलाको क्षमता र आत्मविश्वासलाई उजागर गर्नुका साथै समाजको विकासमा उनीहरूको योगदानलाई थप महत्त्वपूर्ण बनाएको छ।

तर सहभागिता बढ्नु मात्र पर्याप्त छैन; समान अवसर, सुरक्षित वातावरण, आर्थिक आत्मनिर्भरता र निर्णय प्रक्रियामा अर्थपूर्ण प्रतिनिधित्व पनि सुनिश्चित हुनुपर्छ। राजनीतिक तथा प्रशासनिक क्षेत्रमा महिलाको सहभागिता बढ्नु पनि सामाजिक परिवर्तनको महत्त्वपूर्ण पक्ष हो। नेपालको संविधानले महिलाको समानता र सहभागितासम्बन्धी अधिकार सुनिश्चित गरेको छ। महिलाको सहभागिता बढ्दै गए पनि समाजमा सबै समस्या समाधान भइसकेका छैनन्। ग्रामीण तथा दुर्गम क्षेत्रमा भने लैङ्गिक विभेद र परम्परागत सोचले अझै पनि महिलाको प्रगतिमा बाधा पुर्याइरहेको छ । कतिपय परिवारमा महिलाले बाहिर काम गरे पनि घरायसी कामको अधिकांश जिम्मेवारी उनीहरूकै काँधमा रहने गरेको छ।

त्यस्तै, महिलालाई अवसर दिने विषयमा समाजको सोचमा परिवर्तन आउनु एकदम महत्त्वपूर्ण छ । समाजको विकास महिलाको सहभागिताबिना पूर्ण हुन सक्दैन। महिलालाई अवसर दिने मात्र होइन, उनीहरूको क्षमता र निर्णयलाई सम्मान गर्ने संस्कार विकास गर्नु आजको आवश्यकता हो। महिला सक्षम हुनु भनेको केवल एक व्यक्तिको सफलता होइन, परिवार, समाज र राष्ट्रको प्रगतिको आधार बलियो हुनु पनि हो। त्यसैले महिलालाई समान अवसर र सम्मान प्रदान गर्दै उनीहरूको सहभागितालाई अझ व्यापक बनाउनु समतामूलक र विकसित समाज निर्माणको महत्त्वपूर्ण आधार हो।

Leave a Reply

ताजा समाचार