साफ फुटबल : अबको लक्ष्य श्रीलंका, यस्तो छ नेपाली टोलीको रणनीति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

साफ फुटबल : अबको लक्ष्य श्रीलंका, यस्तो छ नेपाली टोलीको रणनीति

काठमाडौं । पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई पराजित गरेको नेपालले साफ च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकाको सामना गर्दैछ ।

मालेस्थित राष्ट्रिय रंगशालामा हुने दोस्रो खेलमा नेपालले भोलि (सोमबार) श्रींलंकासँग प्रतिस्पर्धा गर्न लागेको हो । 

नेपाल र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ । 

दोस्रो खेल खेल्दै गर्दा नेपाल लगातार जित निकाल्ने दाउमा हुनेछ । अनुभवी र युवा खेलाडीको साथ पाएको नेपालले यसअघि प्रतियोगिताको उद्घाटन खेलमा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो । 

नेपालको जितमा युवा अट्याकर मनिष डांगीले खेलको ८४ मिनेटमा काउन्टर गोल गरेका थिए । खेलको ६९ मिनेटमा स्ट्राइकर नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका मनिषले घरेलु दर्शकमाझ माल्दिभ्सका तीन डिफेण्डर र गोलरक्षकलाई विट गर्दै आकर्षक गोल गरेका थिए । 

यता, श्रीलंका भने उद्घाटन अघिको खेलमा बंगलादेशसँग पराजित भएको थियो । १० खेलाडीमा सीमित श्रीलंका बंगलादेशसँग १–० गोल अन्तरले नै पराजित भएको थियो । बंगलादेशको लागि तोपु ब्रमनले खेलको ५६  मिनेटमा पेनाल्टीमा निर्णायक गोल गरेका थिए । 

खेलको ५५ मिनेटमा १० खेलाडीमा सीमित भएको श्रीलंकाका योगेन्द्र डुक्सन पुस्लासले दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदानबाट बाहिरिएका थिए । ३१ बर्षीय अनुभवी सेन्टर डिफेण्डर पुस्लास नेपालविरुद्ध उपलब्ध हुने छैनन् । 

५ टोली सहभागी साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेश ३ अंकसहित शीर्ष दुईमा छन् । पाकिस्तान फिफा प्रतिबन्धका कारण सहभागी नहुँदा भुटान भने कोभिड १९ संक्रमणको कारण देखाउँदै प्रतियोगितामा सहभागी भएन ।

सोमबार नै पहिलो खेलमा भारत र बंगलादेश खेल्दैछन् । नेपाली समयअनुसार खेल अपराह्न पौने ५ बजे सुरु हुनेछ । भारतको प्रतियोगितामा पहिलो खेल हो ।  

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालको लक्ष्य पनि शीर्ष दुईतर्फ केन्द्रीत छ । पहिलो पटक फाइनल पुग्ने योजनामा रहेको नेपाल दोस्रो खेलमा श्रीलंकालाई पराजित गर्दै शीर्षस्थानमा रहन चाहन्छ । सुरुवाती खेलअघि नेपाल बलियो भारत र माल्दिभ्सलाई रोक्दै बंगलादेश र श्रीलंकासँग सहज अंक प्राप्त गर्ने दाउमा थियो । 

प्रतियोगिताअघिको प्रि म्याच पत्रकार सम्मेलनमा बोलेका सहायक प्रशिक्षक किरण श्रेष्ठले प्रतियोगितामा ‘भारत र माल्दिभ्स बलिया टोली रहेको’ र नेपालले ‘उपाधिका लागि चुनौती पेस गर्ने’ बताए । 

तर सुरुवाती खेलमै नेपालले सुखद् सुरुवात गरिसकेको छ । अब नेपाल श्रीलंकालाई हराउँदै आफ्नो योजना अनुसार नै अगाडि बढ्नेछ । 

हाल फिफा वरीयतामा नेपाल १६८ स्थानमा छ भने श्रीलंका २०५ स्थानमा रहेको छ । 

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले पहिलो खेलमै ‘खुसीयाली नमनाउन र बाँकी खेल कुर्न’ आग्रह गरेका छन् । कुवेती नागरिक अब्दुल्लाहले अबको लक्ष्य श्रीलंका भएको र सिधै फाइनल नसोच्न पनि आग्रह गरेका छन् । 

नेपाली टिमको पोजिशन – 

२३ सदस्यीय खेलाडी बोकेर माले पुगेको नेपाली टोलीमा कुनै पनि चोटको समस्या छैन । पछिल्लो खेलमासमेत पूरा खेलाडी फिट रहेका थिए । माल्दिभ्सविरुद्ध लाइट ब्याक गौतम श्रेष्ठ केही समस्याका कारण अनुपस्थित रहे पनि दोस्रो खेलमा श्रीलंकाविरुद्ध उपलब्ध हुनेछन् । नेपाली टोलीले मालेमा आज श्रीलंकासँगको खेलअघि अन्तिम प्रशिक्षण गर्नेछ । 

प्रशिक्षक अब्दुल्लाहले पहिलो खेलकै रणनीति श्रीलंकाविरुद्ध बुन्न सक्छन् । अब्दुल्लाहले माल्दिभ्सविरुद्ध पूरा समय रक्षात्मक खेल खेल्दै, बेला मौकामा काउण्टर खेल खेलाएका थिए । जहाँ उनी सफल रहे । 

सोमबारसमेत अब्दुल्लाह सोही रणनीतिमा हुनेछन् । पहिलो खेलबाट उनले एकमात्रै परिवर्तन गर्न सक्छन् । अग्रपंक्तिमा प्रभाव जमाउन नसकेका नवयुगको स्थानमा अर्का स्ट्राइकर आशिष लामा खेल्न सक्छन् । 

यस्तै अन्जन विष्टको स्थानमा सुमन लामा वा मनिष डांगीले खेल्न सक्ने सम्भावना छ । तर प्रशिक्षक अब्दुल्लाहले मनिषलाई दोस्रो हाफमै रणनीतिअनुसार मैदान उतार्न सक्छन् । 

हेड टु हेड –

दक्षिण एसियाली चिरपरिचित प्रतिद्वन्द्वी नेपाल र श्रीलंकाबीच हालसम्म १७ पटक भेट भएको छ । जहाँ नेपालले ३ खेल जित्दा ८ खेल बराबर खेलेको छ भने ६ खेल श्रीलंकालाई सुम्पिएको छ । 

नेपाल र श्रीलंकाले पहिलो पटक सन् १९८४ मा मैत्रीपूर्ण खेल खेलेका थिए । जहाँ नेपाल ४-० गोल अन्तरले पराजित भएको थियो । यस्तै अन्तिम खेल भने सन् २०१६ को मैत्रीपूर्ण खेल रहेको छ । यस खेलमा भने नेपालले १-० ले नतिजा आफ्नो पक्षमा पारेको थियो  ।

पछिल्ला ५ भेटमा भने नेपालले दुई जीत, दुई बराबरी तथा एक हार ब्यहोरेको छ । 

साफ च्याम्पियनसिप तालिका –

प्रतियोगितामा भारतबाहेक सहभागी ४ टोलीले एक एक खेल खेलिसकेका छन् । बंगलादेश र नेपालको १ खेलबाट समान ३ अंक रहेको छ । गोल अन्तरसमेत बराबर भएपछि कार्ड (प्राप्त रातो, पहेँलो) को आधारमा बंगलादेश शीर्षस्थानमा छ । भारतले पहिलो खेल भोलि (सोमबार) बंगलोदशसँग खेल्नेछ । 

यता, पहिलो खेलमा समान १–० गोल अन्तरले पराजित माल्दिभ्स चौथो स्थानमा रहँदा श्रीलंका पुछार तथा पाचौं स्थानमा छ । 

प्रशिक्षक अब्दुल्लाहको प्रशिक्षणमा नेपालले खेलेका खेलहरु –

नेपाल २ – ६ इराक – मैत्रीपूर्ण खेल 
नेपाल २ – ० चाइनिज ताइपेई – विश्वकप छनोट 
नेपाल ० – ३ जोर्डन – विश्वकप छनोट 
नेपाल ० – ३ अस्ट्रेलिया – विश्वकप छनोट 
नेपाल १ – १ भारत – मैत्रीपूर्ण खेल
नेपाल १– २ भारत – मैत्रीपूर्ण  खेल
नेपाल २– ७ ओमान – मैत्रीपूर्ण खेल (फिफा आधिकारिकता नपाएको)
नेपाल १–० माल्दिभ्स – साफ च्याम्पियनसिप

साफमा नेपालको खेल– समय, 
नेपाल भर्सेस श्रीलंका – १८ असोज – राति ९ः४५ बजे
नेपाल भर्सेस भारत – २४ असोज – राति ९ः४५ बजे
नेपाल भर्सेस बंगलादेश – २७ असोज – अपरान्ह ४ः४५ बजे

नेपाली टिम –
गोलकिपर – किरणकुमार लिम्बु, चेम्जोङ (कप्तान), विशाल श्रेष्ठ, दीप कार्की ।
डिफेन्डर –  दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द ।
मिडफिल्डर – तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, आयुष घलान, कमल थापा, विशाल राई, सुनील बल, सुरज जिउ ठकुरी, नितिन थापा, पुजन उपरकोटी ।
स्ट्राइकर – नवयुग श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, सुमन लामा, आशिष लामा ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);