आकांक्षी धेरै हुँदा एमाले-माओवादीलाई मन्त्री छान्न सकस | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आकांक्षी धेरै हुँदा एमाले-माओवादीलाई मन्त्री छान्न सकस

prachanda-and-kp-oli

एमाले स्थायी कमिटीले नसकेपछि नाम छान्ने जिम्मा ओलीलाई, माओवादीमा दाहाललाई रिझाउँदै तीन नेता

काठमाडौं, ११ फागुन । मन्त्रालय भागबन्डा टुंगो लगाए पनि एमाले र माओवादी केन्द्रलाई मन्त्री छान्न भने सकस परेको छ । आकांक्षी बढी भएपछि दुबै पार्टीलाई आफ्ना तर्फका मन्त्री चयन गर्न सकस परेको हो ।

केन्द्रमा १८ मन्त्रालय राख्ने सहमतिसहित एमालेले प्रधानमन्त्रीसहित ११ र माओवादीले ७ मन्त्रालय पाउने टुंगो लागेको छ । सोही अनुसार एमालेले शुक्रबार स्थायी कमिटी बैठकमामार्फत मन्त्री छान्ने प्रयास गर्यो ।

तर, मन्त्री बन्न चाहानेको लर्को लागेपछि बैठकले नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ । एमालेबाट मन्त्री बन्ने दौडमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, भीम रावल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रविन्द्र अधिकारी, कृष्णगोपाल श्रेष्ठ, छविलाल विश्वकर्मा, पद्मा अर्याल, पार्वत गुरुङलगायत छन् ।

यता, माओवादी पार्टी केन्द्रीय सचिवालयको बैठकले सरकारमा सहभागी हुने सदस्यको नाम छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिएको छ । तीन सदस्यीय टोलीले आवश्यक मापदण्ड बनाएर मन्त्रीको नाम चयन गर्ने छन् ।

समावेशी र समानुपातिक आधारमा नयाँ र पुरानालाई मिलाएर सरकारमा सहभागी हुनेको नाम छान्ने माओवादीको तयारी छ । तर, सरकार विस्तारका लागि दुई पार्टी एकपछि अर्को बैठकमा व्यस्त रहँदा गृहमन्त्री को बन्ने भन्ने विषय टुंग्याउन माओवादी नेतृत्वलाई गाह्रो परिरहेको छ ।

नेताहरु रामबहादुर थापा, बर्षमान पुन र जनार्दन शर्मामध्ये एकजना गृहमन्त्री बन्ने बताइएको छ । तर, कसलाई मन्त्री बनाउने भन्ने टुंगो लगाउन अध्यक्ष दाहाललाई कठिन भएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीसमेतको साथ पाउन पुन र शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिने बहानामा शुक्रबार विहान बालुवाटार पुगेका थिए । पूर्वसभामुख ओनसरी घर्ती पति बर्षमान पुनलाई गृहमन्त्री र आफूलाई सभामुख बनाउनुपर्ने लबिङमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);