आकांक्षी बढी हुँदा प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद विस्तार गर्न सकस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आकांक्षी बढी हुँदा प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद विस्तार गर्न सकस

काठमाडौं, १० फागुन । एमाले र माओवादीभित्र मन्त्रीका आकांक्षी बढी हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिपरिषद विस्तार गर्न सकस परेको छ ।
२० भन्दा कम सदस्यीय मन्त्रीमण्डल बनाउन चाहेका ओलीलाई एमाले र माओवादीभित्र बढी आकांक्षी हुँदा समस्या परेको हो ।

बालुवाटारमा एमाले र माओवादीका शीर्ष नेताहरुबीच बिहीबार भएको छलफलबाट मन्त्री टुंगो लगाउने प्रयास असफल भएपछि मन्त्री र मन्त्रालय भागबन्डाको टुंगो लगाउने जिम्मा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ । एमालेका तर्फबाट मन्त्री बन्न ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, भीम रावल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रविन्द्र अधिकारी, कृष्णगोपाल श्रेष्ठ, छविलाल विश्वकर्मा, पद्मा अर्याल, पार्वत गुरुङलगायत आकांक्षी छन् ।

यस्तै माओवादीबाट रामबहादुर थापा, वर्षमान पुन, मातृका यादव, जयपुरी घर्ती, शक्ति बस्नेत र पम्फा भुसाल मन्त्रीका आकांक्षी छन् । बढी आकांक्षी देखिएपछि एमालेले स्थायी कमिटी बैठकबाट आफ्ना मन्त्रीको टुंगो लगाउने भएको छ । त्यसका लागि शुक्रबार विहान ९ बजे बस्ने गरी बैठक आह्वान गरिएको छ ।

यसैबीच एमाले र माओवादी केन्द्रको सैद्धान्तिक र संगठनात्मक कार्यदलले १५ दिनभित्र प्रतिवेदन तयार गरी नेतृत्वलाई बुझाउने भएको छ । शीर्ष नेताको बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदल बैठकले १५ दिनभित्र एकीकृत पार्टीको संगठनात्मक र सैद्धान्तिक आधार तयार पारिसक्ने निणय गरेको हो ।

फागुन ७ गते सातबुँदे सहमति गरेर पार्टी एकताको आधार तयार गरेका एमाले–माओवादीले संगठन, अन्तरिम विधान र एकीकृत पार्टीको सैद्धान्तिक आधार तयार पार्न माधवकुमार नेपाल र ईश्वर पोखरेलको संयोजकत्वमा दुईवटा कार्यदल गठन गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);