काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भू–भागमा आज वर्षा, हिमपात र तातो लहरको सम्भावना रहेको जनाएको छ । महाशाखाको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज दिउँसो कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहनेछ । यी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । यस्तै, कोशी प्रदेशको तराई र मधेश प्रदेशका एक–दुई स्थानमा समेत वर्षाको प्रक्षेपण गरिएको छ । यसैगरी, तराई क्षेत्रमा गर्मी बढ्ने क्रम जारी छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (लू) चल्ने तथा वागमती र गण्डकी प्रदेशका तराई भू–भागमा समेत अत्यधिक गर्मी हुने सम्भावना रहेकाले आवश्यक शतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका बाँकी तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ । आज राति कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा मौसम साधारणतया बदली रहनेछ । कोशी प्रदेशका केही स्थानहरू तथा वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना छ । मधेस, बागमती र गण्डकी प्रदेशको तराईका एक–दुई स्थानमा समेत हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा रातिको समयमा मौसम मुख्यतया सफा रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था रहने विभागको पूर्वानुमान छ।




