अमेरिका र इरानबीचको वार्ता सकारात्मक, ६० दिनभित्र अन्तिम सम्झौता गर्ने लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

अमेरिका र इरानबीचको वार्ता सकारात्मक, ६० दिनभित्र अन्तिम सम्झौता गर्ने लक्ष्य

स्विजरल्याण्डको बुर्गेनस्टोकमा कतार र पाकिस्तानको मध्यस्थतामा भएको अमेरिका र इरानबीचको पहिलो चरणको वार्ता सकारात्मक र रचनात्मक वातावरणमा सम्पन्न भएको छ । सोमबार कतार र पाकिस्तानद्वारा जारी एक संयुक्त विज्ञप्तिअनुसार वार्तामा उत्साहजनक प्रगति हुनुका साथै आगामी प्राविधिक छलफलका लागि आवश्यक संयन्त्र समेत तयार गरिएको छ । विज्ञप्तिमा उल्लेख भएअनुसार मध्यस्थता प्रक्रियाको राजनीतिक सुपरीवेक्षण गर्न दुवै पक्ष एक उच्चस्तरीय समिति गठन गर्न सहमत भएका छन् । यस समितिमा मुख्य वार्ताकारहरूले नियमित रूपमा प्रतिवेदन पेश गर्नेछन्। समितिले परमाणु मुद्दा, प्रतिवन्धहरू, अनुगमन तथा विवाद समाधानका लागि कार्यदलहरूको नेतृत्व गर्नेछ, जसले इस्लामावाद समझदारी पत्रको कार्यान्वयन र अन्य द्विपक्षीय विषयहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।
वार्ताका क्रममा आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने उद्देश्यका साथ एक कार्ययोजना (रोडम्याप) मा सहमति जुटेको छ । यसका साथै, थप प्राविधिक वार्ताहरू तत्कालै शुरु गर्ने निर्णय समेत गरिएको छ । समुन्द्री क्षेत्रमा हुनसक्ने सम्भावित असमझदारी वा दुर्घटना न्युनिकरण गर्न र हर्मुज जलडमरूमध्यबाट व्यापारिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न एक सञ्चार संयन्त्र स्थापना गरिएको छ । यसैगरी, लेबनानमा जारी युद्धविरामको पूर्ण कार्यान्वयनका लागि मध्यस्थकर्ताहरूको सहयोगमा दुवै पक्ष र लेबनान सम्मिलित एक डि–कन्फ्लिक्शन सेल गठन गर्न समेत सहमति भएको छ ।
प्राविधिक तहका वार्ताहरू यस हप्ताभरि नै जारी रहने बताइएको छ । मध्यस्थकर्ता राष्ट्रहरू कतार र पाकिस्तानले दुई पक्षबीच अन्तिम सम्झौता गराउन आफ्नो प्रयासलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आईतवार स्विजरल्याण्डको पर्यटकीय क्षेत्र बुर्गेनस्टोकमा भएको यो वार्ता इस्लामावाद समझदारी पत्रमा हस्ताक्षर भएपछिको पहिलो प्रत्यक्ष उच्चस्तरीय संवाद हो  ।

Leave a Reply