ए डिभिजन लिगका लागि कतार एयरवेजसँग सम्झौता नवीकरण | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

ए डिभिजन लिगका लागि कतार एयरवेजसँग सम्झौता नवीकरण

काठमाडौं । शीर्ष डिभिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)  र कतार एयरवेजबीच सम्झौता नवीकरण भएको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मलेन आयोजना गर्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद एल इमामले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

कतार एयरवेज थप एक वर्षका लागि लिगको प्रायोजनको सम्झौता गरेको हो । २०७६ सालमा भएको लिगको समेत प्रायोजक रहेको कतार एयरवेजले आगामी सिजनमा पनि सम्झौता गर्ने बताएको हो । कोरोना भाइरसको महामारीका कारण २०७६ पछि हुन नसकेको लिग शुक्रबारदेखि सुरु हुँदैछ ।

एन्फा अध्यक्ष शेर्पाले सबै स्तरका लिगलाई अझै बलियो बनाउन कतार एयरले स्पोन्सर गर्नुपर्छ भन्ने प्रस्ताव कतार फुटबल संघसमक्ष राखेको बताए । ‘यो सम्झौता नवीकरणसँगै आगामी समयमा रकम वृद्धि गर्ने आश्वासन पनि हामीलाई दिनुभएको छ,’ उनले भने, ‘गर्त वर्ष पनि लिग आयोजना भएको भए यसपालि प्रायोजन रकम बढ्थ्यो । तर, आयोजना नभएकाले बढेन । अर्को वर्ष बढ्नेमा आशावादी छौं ।’

यस्तै, एयरवेजका कन्ट्री म्यानेजर एल इमामले एन्फासँगको सम्झौता पेरिस सेन्ट जर्मन र बायर्न म्युनिखसँग जस्तै सम्झौता हो । फुटबलको विकास गर्ने कतार एयरवेजको प्रमुख लक्ष्य रहेको बताउँदै उनले यो सम्झौताबाट खुसी लागेको जानकारी दिए । कतार एयरवेजले लिग सञ्चालनको प्रायोजन स्वरूप एन्फालाई एक करोड ५० लाखभन्दा बढी रकम दिनेछ ।

९१ खेल हुने सिंगल राउन्ड  रोबिनको लिगको उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेन्डस् क्लबबीच प्रतिस्पर्धा हुनेछ । एन्फाले लिगको दुई चरणको तालिका सार्वजनिक गरेको छ । सबै खेल दशरथ रंगशालामा हुनेछ । हप्ताको शुक्रबार, शनिबार, आइतबार र सोमबार हुने लिगको टिकट मूल्य सामान्यतर्फ एक सय र भिआईपीतर्फ पाँच सय रुपैयाँ तोकिएको छ । दुई टोली रेलिगेसन हुने लिगको विजेताले ७५ लाख पाउँदा दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ पाउनेछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);