काठमाडौं ।
देशका विभिन्न भू–भागमा आज बदली, वर्षा र हिमपातको सम्भावना रहेको छ । हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुनुका साथै केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको प्रक्षेपण गरिएको छ । दिउँसोको समयमा देशका हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि वर्षा र हिमपात हुनसक्ने देखिएको छ । तराई क्षेत्रको हकमा कोशी प्रदेशका थोरै स्थान र मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहने भएपनि ती क्षेत्रमा अत्यधिक गर्मी बढ्ने र तातो दिनको सम्भावना रहेको छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । वागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुनुका साथै कोशी प्रदेशको तराई क्षेत्रमा समेत मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । देशका अन्य भू–भागमा भने रातिको मौसम सामान्यतया सफा रहनेछ ।




