काठमाडौँ ।
देशभरको मौसममा उल्लेख्य परिवर्तन आई अधिकांश भू–भागमा बदली र वर्षाको सम्भावना देखिएको छ । मौसम पूर्वानुमानअनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागका धेरै स्थानहरूमा वर्षाको प्रक्षेपण गरिएको छ । वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानका साथै मधेस र कोशी प्रदेशका तराई भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने देखिन्छ । विशेषगरी वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै, कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक शतर्कता अपनाउनुपर्ने देखिन्छ । रातिको समयमा पनि हिमाली र पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने तराईका क्षेत्रमा आंशिक बदली हुने पूर्वानुमान छ । देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना यथावत रहनेछ । कोशी र लुम्बिनी प्रदेशको तराईका केही स्थान तथा मधेस, वागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको छ ।




