काठमाडौं । देशभरको मौसममा साधारणतया बदली रही अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहनेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । त्यसैगरी, पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । तराई क्षेत्रतर्फ बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा मधेस र कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थान र वागमती, गण्डकी, लुम्बिनी, कर्णाली एवं सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति पनि देशभर साधारणतया बदलीकै अवस्था रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । यस्तै, कोशी, मधेस, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा वर्षाको सम्भावना छ । रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले उल्लेख गरेको छ ।




