उत्तर इराकमा खसालिएको एक इरानी ‘वन–वे’ अट्याक ड्रोनको विस्फोट नभएको गोलाबारुदलाई नियन्त्रित रूपमा निष्क्रिय पार्ने क्रममा एक अमेरिकी सैनिकको मृत्यु भएको छ । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले आईतवार विज्ञप्ति जारी गर्दै शनिबार भएको यस घटनाको पुष्टि गरेको हो । सेन्टकमकाअनुसार सोही अभियानका क्रममा अर्का एक सैनिक सामान्य घाइते भएका छन् । उनको हाल स्वास्थ्योपचार भइरहेको जनाइएको छ । यसैबीच, जोर्डनमा शुक्रवार भएको इरानी आक्रमणपछि बेपत्ता भएका एक सैनिकको खोजीका क्रममा अमेरिकी सैन्य टोलीले आइतबार अज्ञात मानव अवशेष फेला पारेको छ । उक्त आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको र एकजना बेपत्ता भएको जानकारी सेन्टकमले शनिबार नै सार्वजनिक गरेको थियो । फेला पारिएको अवशेषको पहिचानका लागि हाल परीक्षण प्रक्रिया जारी रहेको सेन्टकमले उल्लेख गरेको छ ।




