भारतको तमिल नाडुमा अमोनिया ग्यास चुहावट हुँदा सात जनाको मृत्यु, ६० भन्दा बढी अस्पताल भर्ना | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

भारतको तमिल नाडुमा अमोनिया ग्यास चुहावट हुँदा सात जनाको मृत्यु, ६० भन्दा बढी अस्पताल भर्ना

भारतको दक्षिणी राज्य तमिल नाडुस्थित एक समुन्द्री खाद्य (सीफुड) प्रशोधन केन्द्रमा अमोनिया ग्यास चुहावट हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य ६७ जना अस्पताल भर्ना भएका छन् । आधिकारिक स्रोतकाअनुसार प्रशोधन केन्द्रबाट शुरु भएको अमोनिया ग्यासको चुहावट तिब्र रूपमा परिसरभरि फैलिएको थियो । सो समयमा उद्योगमा कार्यरत कामदारहरूले एक्कासि श्वासप्रश्वासमा कठिनाइ भएको महशुस गरेका थिए भने केहीको मुख र नाकबाट रगत समेत बगेको थियो । ग्यासबाट प्रभावित कामदारहरूलाई तत्काल उपचारका लागि नजिकैका निजी अस्पतालहरूमा लगिएको भएपनि उपचारका क्रममा सात जनाको मृत्यु भएको हो । मृत्यु हुने सबै महिला कामदार रहेको अधिकारीहरूले पुष्टि गरेका छन् । घटनाको जानकारी पाउनासाथ प्रहरी, विपद् व्यवस्थापन टोली, दमकल, आपत्कालीन सेवा र स्वास्थ्यकर्मीहरूको टोली उद्धारका लागि घटनास्थल पुगेको थियो । हाल ग्यास चुहावट नियन्त्रणका लागि अत्याधुनिक ग्यास पहिचान गर्ने यन्त्र र विशेष उद्धार उपकरणसहित ३० सदस्यीय विशेषज्ञ टोली परिचालन गरिएको छ । टोलीले चुहावट भएको स्थान पहिचान गरी मर्मत कार्य गरिरहेको छ ।

Leave a Reply