अमेरिकाको लस एन्जलस शहरले विगत केही दिनदेखि जारी भीषण आगलागीका कारण स्थानीय संकटकाल घोषणा गरेको छ । एक गोदामबाट शुरु भएको उक्त आगलागीका कारण फैलिएको बाक्लो धुवाँले महानगर क्षेत्र प्रभावित भएपछि शहर प्रशासनले यो कदम चालेको हो । यो संकटकालीन घोषणासँगै आगलागी नियन्त्रणका लागि राज्यस्तरबाट थप स्रोत र साधन परिचालन गरिने भएको छ । अधिकारीहरूका अनुसार यो सामान्य आगलागीभन्दा जटिल प्रकृतिको रहेकाले थप सहयोगको आवश्यकता परेको हो । लस एन्जलसको मध्यभाग नजिकै अवस्थित लिनिएज लजिस्टिक्सको कोल्ड–स्टोरेज (चिस्यान केन्द्र) बाट शुरु भएको यस आगलागीमा करोडौँ पाउन्ड बराबरको जमेको खाद्यवस्तु भण्डारण गरिएको थियो ।
करिव ४६ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको उक्त भवनको विशिष्ट बनावट र त्यहाँ रहेका सामग्रीका कारण नियन्त्रण कार्य चुनौतीपूर्ण बनेको अग्निनियन्त्रकहरूले बताएका छन् । लस एन्जलस अग्नि नियन्त्रण विभागका प्रमुख जेमी मोरका अनुसार उक्त भवन एक विशाल कुलर जस्तै छ, जसमा स्टिलका पर्खालहरू र बाक्लो फोम इन्सुलेशन प्रयोग गरिएको छ ।
अधिकारीहरूका अनुसार एकपटक आगो सल्किएपछि त्यस्ता इन्सुलेशनहरू भित्रभित्रै सल्किरहने, तापक्रम सोसिरहने र बाहिरबाट पानी खन्याउँदा पनि लगातार धुवाँ निस्किरहने गर्दछ ।
आगलागीका क्रममा भवनको छानामा रहेका सोलार प्यानल र रेफ्रिजेरेशन प्रणालीमा प्रयोग हुने एमोनिया ग्यासका कारण शुरुमा थप जोखिम देखिएको थियो। यद्यपि, अग्निनियन्त्रकहरूले एमोनिया र अन्य प्रशीतक (रेफ्रिजेरेन्ट) हरूलाई सुरक्षित रूपमा हटाएर सम्भावित रसायनिक खतरालाई टारेका छन् । तर लामो समयसम्म आगो जारी रहँदा भित्र रहेको ठूलो परिमाणको खाद्यवस्तु सड्न सक्ने र त्यसले वातावरणीय तथा जनस्वास्थ्यमा नयाँ संकट ल्याउन सक्नेप्रति चिन्ता व्यक्त गरिएको छ ।
शनिबार दिउँसोसम्मको प्राप्त जानकारी अनुसार यस दुर्घटनामा कुनै पनि अग्निनियन्त्रक वा सर्वसाधारण घाइते भएका छैनन् । उक्त भवनका सञ्चालक लिनिएज लजिस्टिक्सले जारी गरेको विज्ञप्ति अनुसार वाह्य ठेकेदारहरूले छानामा रहेको सोलार प्यानल परीक्षण गर्ने क्रममा आगो सल्किएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ ।




