महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्र अब राजर्षि जनक विश्वविद्यालयको मातहतमा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २८ २०८३, शनिबार

महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्र अब राजर्षि जनक विश्वविद्यालयको मातहतमा

जनकपुरधामस्थित महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्र अब राजर्षि जनक विश्वविद्यालयको मातहतमा सञ्चालन हुने भएको छ । लामो समयदेखि शहरी विकास मन्त्रालयको नियन्त्रणमा रहेको उक्त केन्द्रलाई थप प्रभावकारी बनाउन सरकारले विश्वविद्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेसँगै मिथिला संस्कृतिको अध्ययन र अनुसन्धानमा नयाँ आयाम थपिने अपेक्षा गरिएको हो । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले शनिवार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै यस निर्णयले मिथिला संस्कृतिको प्रवद्र्धनमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले केन्द्रलाई विश्वविद्यालय मातहत ल्याउन महत्वपूर्ण भुमिका खेल्नेहरु प्रधानमन्त्री बालेन्द्र साहसहित अन्य मन्त्रीप्रति आभार प्रकट गर्नुभयो । नेता निधीको पहलमा भएको यस निर्णयपछि अब केन्द्रको प्रशासनिक र शैक्षिक कार्यसञ्चालनको जिम्मा राजर्षि जनक विश्वविद्यालयको हुनेछ । यसअघि शहरी विकास मन्त्रालयअन्तर्गत रहेको यस भवनमा अब मिथिला संस्कृतिको अध्ययन, अनुसन्धान र पठनपाठनका कार्यक्रमहरू अघि बढाइनेछन् । जनकपुरधामस्थित शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले हालै विश्वविद्यालयलाई यससम्बन्धी औपचारिक पत्र पठाइसकेको छ ।

कार्यक्रममा बोल्दै निधीले राजर्षि जनक विश्वविद्यालयको स्थापनादेखि नै आफूले सक्रिय भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो । विश्वविद्यालयका पदाधिकारीहरूसँगको समन्वयमा यस प्रक्रियालाई अगाडि बढाइएको जानकारी दिँदै उहाँले विशेष गरी शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले स्थलगत निरीक्षणपश्चात देखाएको अग्रसरताको प्रशंसा गर्नुभयो । हाल विश्वविद्यालयमा नयाँ उपकुलपति श्यामनारायण लाभले पदभार सम्हालेसँगै शैक्षिक गतिविधिहरूलाई गति दिने प्रयास भइरहेको छ ।

Leave a Reply