युरोपेली संघ (ईयू) का नेताहरू कृत्रिम बुद्धिमत्ता (एआई), आर्थिक प्रतिस्पर्धात्मकता र युक्रेन युद्ध अन्त्यका लागि भइरहेका पछिल्ला कूटनीतिक प्रयासबारे छलफल गर्न आयरल्याण्डको राजधानी डब्लिनमा भेला भएका छन् । शुक्रवार डब्लिनस्थित कन्भेन्सन सेन्टरमा आयोजित अनौपचारिक शिखर सम्मेलनमा ईयूका २७ सदस्य राष्ट्रका नेताहरू सहभागी भएका छन् । युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाको अध्यक्षतामा तथा आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनको आतिथ्यमा सम्मेलन आयोजना गरिएको हो । युरोपेली परिषद्काअनुसार सम्मेलनमा पहिलोपटक ईयूका नेताहरूले विशेष रूपमा एआईसम्बन्धी रणनीतिक छलफल गर्दैछन् । युरोपको प्रविधिगत प्रतिष्पर्धात्मक क्षमता वृद्धि गर्ने, अन्य मुलुकमाथिको प्राविधिक निर्भरता घटाउने र आफ्नै एआई प्रविधि विकास गर्ने विषयलाई प्राथमिकता दिइएको छ । सम्मेलनमा फ्रान्सेली एआई कम्पनी मिस्ट्रलका प्रमुख कार्यकारी अधिकृत आर्थर मेन्ससँग विश्वव्यापी एआई प्रतिस्पर्धामा युरोपको स्थानबारे छलफल हुने कार्यक्रम छ ।
यस्तै, नोबेल पुरस्कार विजेता जेफ्री हिन्टनले एआई सुरक्षा, साइबर सुरक्षा, रोजगारी तथा प्रविधिले समाजमा पार्ने व्यापक प्रभावबारे नेताहरूसँग विचार आदानप्रदान गर्नेछन् । सम्मेलनको अर्को प्रमुख एजेन्डा युक्रेन युद्ध अन्त्यका लागि भइरहेका कूटनीतिक प्रयास रहेको छ । नेताहरूले संयुक्त अरब इमिरेट्सको अबुधाबीमा भएका पछिल्ला शान्ति वार्ताको समीक्षा गर्दै वार्ता प्रक्रियामा युरोपको भूमिकाबारे छलफल गर्नेछन् । युक्रेनका लागि साझा युरोपेली धारणा निर्माण गर्ने तथा उसको सुरक्षाका लागि आवश्यक प्रत्याभूति उपलब्ध गराउने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ । यसअघि बिहीबार सोही स्थानमा नवौँ युरोपेली राजनीतिक समुदायको शिखर सम्मेलन आयोजना भएको थियो । शुक्रबारको अनौपचारिक सम्मेलन त्यसैको निरन्तरताका रूपमा भएको हो ।




