छठका लागि स्वदेशी केराको भर, मूल्यमा भने उपभोक्ताको गुनासो | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २८ २०८३, शनिबार

छठका लागि स्वदेशी केराको भर, मूल्यमा भने उपभोक्ताको गुनासो

काठमाडौँ ।

छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराई–मधेसका बजारमा केराको किनबेच बढेको छ । छठ पर्वमा केरालाई महत्वपूर्ण प्रसादका रूपमा चढाउने परम्परा रहेकाले यतिबेला बजारमा केराको माग उच्च छ । पर्वको तयारी अन्तिम चरणमा पुग्दा व्यापारीहरू केरा विक्री गर्न व्यस्त छन् भने उपभोक्ताहरू पनि पूजाका सामग्री जुटाउन बजार धाउन थालेका छन् । यस वर्ष छठका लागि आवश्यक केरा भारतबाट आयात नभए पनि स्वदेशी उत्पादनले बजारको माग धानिरहेको व्यवसायीहरूले बताएका छन् । जनकपुर फलफूल व्यवसायी संघका अध्यक्ष विश्वेश्वर यादवकाअनुसार यसपटक भारतबाट एउटा पनि केरा आएको छैन । नेपालकै विभिन्न जिल्लामा उत्पादन भएको केराले बजारको माग पूरा गरिरहेको छ । यादवले कैलालीको टीकापुर, नवलपरासी, चितवन, त्रिवेणी, हेटौँडा, निजगढदेखि पूर्वको बिर्तामोड, शनिश्चरे र इनरुवालगायत क्षेत्रबाट केरा आपूर्ति भइरहेको बताउनु भयो । । उहाँकाअनुसार नेपालमा केराको उत्पादन बढ्दै गएकाले छठ पर्वका लागि अभाव हुने अवस्था छैन ।

उहाँले बजारमा मिर्चमान जातको केरा एक हजारदेखि १२ सय रुपैयाँसम्म र गोपाल जातको केरा पाँच सयदेखि एक हजार रुपैयाँसम्ममा विक्री भइरहेको जानकारी दिनुभयो । उपभोक्ताले सहज रूपमा केरा खरिद गरिरहेको दाबी गर्दै उनले यस वर्ष मूल्यमा थप वृद्धि नहुने पनि बताउनु भयो । विगतमा भारतबाट मिर्चमान र चम्पा जातका केरा बढी आउने गरे पनि पछिल्लो समय नेपालमै केराखेती विस्तार हुँदै गएको यादवको भनाइ छ । अहिले गोपाल र बन्सीबोट जातका केराको उत्पादन पर्याप्त रहेको तथा आगामी एक–दुई वर्षमा मिर्चमान र चम्पा जातका केराको उत्पादनसमेत बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । तर व्यवसायीले बजारमा केराको अभाव नरहेको बताए पनि उपभोक्ता भने मूल्यप्रति सन्तुष्ट देखिएका छैनन् । भारतबाट केरा आयात हुँदा तुलनात्मक रूपमा सस्तो पर्ने गरेकोमा अहिले स्वदेशी केराको मूल्य गत वर्षको तुलनामा महँगो भएको उनीहरूको गुनासो छ । एक उपभोक्ताले भारतबाट केरा आउँदा बजारमा सहज उपलब्धता र मूल्यमा प्रतिस्पर्धा हुने गरेको बताए । अहिले आयात कम हुँदा महँगो मूल्यमा केरा खरिद गर्नुपरेको उनको भनाइ छ ।

छठ पर्वमा केराको विशेष धार्मिक तथा सांस्कृतिक महत्व रहेकाले यसको मूल्यवृद्धिले सर्वसाधारणलाई थप आर्थिक भार परेको अर्का उपभोक्ताको गुनासो छ । व्यापारीले केराको घरीको मूल्य १२ सयदेखि १५ सय रुपैयाँसम्म भनेको उल्लेख गर्दै उनले पहिले ६–७ सय रुपैयाँमा पाइने केरा अहिले निकै महँगो भएको बताए । उनले छठजस्तो महत्वपूर्ण पर्वमा आवश्यक पर्ने सामग्रीको मूल्य नियन्त्रण तथा उपभोक्तालाई राहत दिन सरकारले ध्यान दिनुपर्ने मागसमेत गरे । छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिँदा केरासहित विभिन्न फलफूल तथा पूजा सामग्री चढाउने चलन छ । त्यसैले पर्व नजिकिँदै जाँदा केराको माग झन् बढ्ने गरेको छ । यस वर्ष स्वदेशी उत्पादनले बजारको माग धान्ने व्यवसायीको दाबी र महँगो मूल्यका कारण उपभोक्तामा देखिएको असन्तुष्टिबीच छठको किनमेल चलिरहेको छ ।

Leave a Reply