काठमाडाैं । पर्यावरणीय सभ्यता बिना दीगो विकास सम्भव नभएको सरोकारवालाहरुले बताउनुभएको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङले अघि सार्नुभएको पर्यावरणीय सभ्यताको अवधारणासम्बन्धी छलफल कार्यक्रममा विज्ञहरूले प्रकृति केन्द्रित विकास मोडललाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभएको हो ।
अर्थविद् डा. चन्द्रमणि अधिकारीले प्रकृतिलाई विश्वविद्यालय मानेर हिँड्नुपर्ने बताउनुभयो । निश्चल जल र हरित पहाडको सिद्धान्त आजको आवश्यकता भएको उल्लेख गर्नुहुँदै उहाँले प्रकृतिबाट टाढा भए राजनीति, अर्थनीति, संस्कार र संस्कृति नै दुषित हुने बताउनुभयो । कृषि, औद्योगिक विकास, आवास निर्माण र पर्यटन प्रवर्द्धन जस्ता क्षेत्रहरूमा परम्परागत संस्कृतिसँग आधुनिक प्रविधि जोड्न सके मात्र दीगो विकास सम्भव हुने उहाँको भनाई छ ।
डा अधिकारीले नेपालको शास्त्रीय ज्ञान र परम्परागत अभ्यासहरूमा शहर विकासदेखि प्राकृतिक स्रोत व्यवस्थापनसम्मका स्पष्ट मार्गनिर्देशन रहेको उल्लेख गर्दै ती असल पक्षलाई पुनःअवलम्वन गर्नुपर्ने बताउनुभयो । उहाँले शास्त्रका ज्ञान, चीन र युरोपबाट सिकाइएका आधुनिक अभ्यासलाई संयोजन गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
जलवायु तथा वित्त विज्ञ डा. धर्म उप्रेतीले माटो, जल, हावा र ध्वनी सभ्यताको चर्चा गर्दै पर्यावरणीय सुधारका लागि राजनीतिक प्रतिवद्धता अनिवार्य रहेको बताउनुभयो । उहाँले माटोको शुद्धतामा अति आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले माटोको अशुद्धताले गर्दा युरोपले धेरैजसो देशको धान नदिने गरेको बताउनुभयो । उहाँले माटो, हावा, पानीलाई शुद्ध बनाउन पर्यावरणीय सभ्यतासम्बन्धी सि जिनपिङको अवधारणा आवश्यक रहेको बताउनुभयो ।
चिनियाँ राष्ट्रपति सीले विकासका लागि पर्यावरणीय सभ्यताको अवधारणा सन् २००५ मा ल्याउनुभएको थियो ।
तस्बिर : एआई





