पार्टी एकताको प्रगतिबारे समिक्षा गर्न भोलि संयोजन समिति बैठक बोलाउने सहमति –
ललितपुर, २५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नयाँ सरकार गठनबारे छलफल भएको छ ।
ललितपुरको मानभवनमा एक घण्टा बढी भएको भेटवार्तामा ओली र दाहालबीच पार्टी एकतासँगै नयाँ सरकार गठनका विषयमा छलफल भएको बताइएको छ । दुवै नेताले सहयोगीसमेत नलगी मानभवको एक घरमा भेटवार्ता गरेका हुन् ।
पार्टी एकताको विषयमा प्रगति हुन नसकेको भन्दै आलोचना भइरहेको तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिने तयारी गरिरहेका बेला ओली र दाहालबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
दुई नेताबीच पार्टी एकता प्रक्रिया र अन्य विषयमा एकता संयोजन समितिमा थप छलफल गर्ने समझदारी बनेको छ । आज भएको सहमतिअनुसार भोलि संयोजन समिति बैठक बस्ने दाहालको सचिवालयले जनाएको छ । एकता संयोजन समितिमा एकता प्रक्रियाको प्रगतिको समीक्षा गरी आगामी कार्यभारबारे छलफल हुने बताइएको छ ।