एशियाली देशहरूमा ट्राफिक व्यवस्थापन र सुरक्षाको समस्या गम्भीर : सचिव शर्मा | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

एशियाली देशहरूमा ट्राफिक व्यवस्थापन र सुरक्षाको समस्या गम्भीर : सचिव शर्मा

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा सडक सुरक्षा प्रमुख चुनौतीका रूपमा उभिएको बताउनुभएको छ । उपत्यकाका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको सडक सुरक्षा कार्यशालामा उहाँले सडक सुरक्षा चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको हो ।

यातायातको माध्यमबाट जीवन सहज बनाउने र विकासको गतिलाई अगाडि बढाउने पूर्वशर्त सडक यातायात भएपनि सडक सुरक्षाको विषय निकै संवेदनशील बन्दै गएको उहाँको भनाई छ । विशेष गरी एशियाली तथा विकासोन्मुख देशहरूमा ट्राफिक व्यवस्थापन र सुरक्षाको समस्या गम्भीर रहेको उहाँले बताउनुभयो ।

सचिव शर्माले ट्राफिक सुरक्षा कुनै एक पक्षको प्रयासले मात्र सम्भव नहुने स्पष्ट पार्दै रोड सेफ्टी काउन्सिल गठनको आवश्यकता रहेको बताउनु भयो । उहाँले धेरै पहिलेदेखि रोड सेफ्टी काउन्सिल गठन गर्न प्रयास गरिरहेको भएपनि सफल हुन नसकेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री वा मन्त्रीको नेतृत्वमा काउन्सिल गठन गर्नको लागि अर्थ मन्त्रालयलाई पटक–पटक आग्रह गरेको भएपनि अहिलेसम्म गठन हुन नसकेको उहाँको भनाई छ । यसका लागि सुरक्षा निकाय, निजी क्षेत्र, यातायात व्यवसायी लगायत सबै पक्षले वकालत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले मन्त्रालयले गर्नुपर्ने नीतिगत सुधार गरिरहेको पनि जानकारी दिनुभयो ।

ट्रान्सपोर्ट नीतिको मस्यौदा तयार गरिसकेको उल्लेख गर्दै उहाँले रोड सेफ्टी एक्ट, रोड सेफ्टी रेगुलेशन र रोड सेफ्टी एक्शन प्लानको मस्यौदा पनि तयार अवस्थामा रहेको जानकारी दिनुभयो । तर कार्यान्वयन चरणमा समस्या रहेको उहाँले स्वीकार गर्नुभयो ।

Leave a Reply