मोदीको सन्देश बोकेर सुष्मा आउँदै: मिसन-'वाम गठबन्धनसँग मित्रता' | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मोदीको सन्देश बोकेर सुष्मा आउँदै: मिसन-‘वाम गठबन्धनसँग मित्रता’

kp n sushama swaraj

काठमाडौं, १८ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर विदेशमन्त्री सुष्मा स्वराज बिहीबार अपराह्न काठमाडौं आउँदै छिन् । वायुसेनाको विशेष विमानमा दुई दिनका लागि आउन लागेकी उनीसँग नवनियुक्त विदेशसचिव विजय केशव गोखले र सहसचिवद्वय सुधाकर दलेला र रबिस कुमार पनि हुनेछन् ।

कूटनीतिक स्रोतका अनुसार औपचारिक घोषणा नगरिए पनि प्रधानमन्त्री मोदीको विशेष दूतका रूपमा स्वराजको भ्रमण हुन लागेको हो । अपराह्न साढे ३ बजे विदेशमन्त्री स्वराज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । उनलाई विमानस्थलमा परराष्टसचिव शंकरदास बैरागी र भारत डेस्क हेर्ने सहसचिव भृगु ढुंगाना र प्रमुख शिष्टाचार महापाल दीपक अधिकारीले स्वागत गर्नेछन् । स्वराजले विहीवार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रात्रीभोजसहित भेटवार्ता गर्ने कार्यक्रम छ । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेशी दलका नेतासँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।

विदेशमन्त्री स्वराजले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने तय भएको देउवाका विदेश मामिलासम्बन्धी सल्लाहार डा.दिनेश भट्टराईले जानकारी दिए । प्रधानमन्त्रीसँग भेटवार्तापछि शीतलनिवास गएर स्वराजले राष्टपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।परराष्टमन्त्रालयले बुधवार विज्ञप्ति जारी गरी स्वराजको भ्रमण हुन लागेको औपचारिक जानकारी दिएको छ । भारतीय विदेश मन्त्रालयले भने सोमवारै स्वराजको भ्रमण सार्वजनिक गरिसकेको छ । परराष्ट मन्त्रालयको भारत डिभिजन प्रमुख भृगु ढुंगानाले राष्टपति र प्रधानमन्त्रीसँग भेटवार्ताका लागि मन्त्रालयले सहजीकरण गरेको तर राजनीतिक नेतृत्वसँगको भेटवार्ताबारे थाहा नभएको बताए ।

स्वराज भ्रमणको प्रमुख उद्देश्य वाम गठबन्धनसँग सम्बन्ध सुधार र सहकार्य

स्वराज भ्रमणको प्रमुख उद्देश्य नेपालमा निर्वाचनपछि वाम गठबन्धनले ल्याएको बहुमतसँगै उससँग सम्बन्ध सुधार र सहकार्य गर्ने रहेको जानकारी बताउँछन् । पछिल्लो जनमतका आधारमा आउँदो सरकारसँग सहकार्य गर्ने सन्देश बोकेर स्वराज आउन लागेको भारतको रक्षा मन्त्रालयसम्वद्ध थिंकट्यांक आइडीएसएका नेपाल मामिला जानकार डा. निहार नायकले बताए । विगतमा कर्मचारीतन्त्रबाट भएको गल्तीका कारण सम्बन्धमा तीतोपन आएकोले सुधारका लागि राजनीतिक तवरबाटै प्रयास थालिएको अर्थमा यसलाई लिनुपर्ने पनि उनको भनाई छ ।

एमाले नेता डा. राजन भट्टराईले स्वराजको भ्रमणलाई अन्यथा लिन नमिल्ने भन्दै भ्रमणबारे उनी आइसकेपछि मात्रै भन्न सकिने बताए । उनले भने, अहिले उहाँ आउन लाग्नुभएको छ । राजनीतिक नेतृत्वसँग उहाँले के सन्देश दिनु हुन्छ, के कुराकानी हुन्छ, त्यसका आधारमा मात्रै यो भ्रमणको महत्वबारे भन्न सकिन्छ । तर राजनीतिक तहमा सम्बन्ध सुधार गर्नै सहकार्य गर्ने भारतको इच्छालाई सकारात्मकरुपमा नै लिनुपर्ने उनको भनाई थियो ।

कतिपयले स्वराजको यो भ्रमणलाई नयाँ सरकार गठनलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण तयारीका रुपमा पनि बुझेका छन् । मोदीले यसअघि अरुण तेस्रो जलविद्युत आयोजना सिलान्यास गर्ने, जनकपुर र लुम्बिनी भ्रमण गर्ने गरी नेपाल आउने तयारी भएको थियो । तर, नेपालमा वाम गठबन्धन निर्माणसँगै उनको भ्रमण तयारीकै क्रममा रोकिएको थियो ।

स्वराजको भ्रमणबारे भारतीय प्रधानमन्त्री मोदीले ७ माघमा टेलिफोन वार्ताका क्रममा एमाले अध्यक्ष ओलीलाई जानकारी गराएका थिए । ओलीका विदेश मामिलासम्बन्धी पूर्व सल्लाहकार गोपाल खनालका अनुसार मोदीले फेब्रुअरी पहिलो साता विदेशमन्त्री स्वराजलाई नेपाल पठाउन लागेको जानकारी दिएका थिए । पछि दिल्लीसँग समन्वय गरेर भारतीय राजदूत मञ्जिब सिंह पुरीले भेटवार्ताको तारतम्य मिलाएका हुन् । स्वराजको भ्रमणका लागि ओलीका तर्फबाट एमाले नेता विष्णु रिमालले समन्वय गरेका छन् भने मोदीका तर्फबाट भारतीय राजदूत मञ्जिब सिंह पुरीले समन्वय गरेका छन् ।आजको नयाँ पत्रिकामा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);