एमाले अध्यक्ष ओली र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एमाले अध्यक्ष ओली र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

काठमाडौं, १८ माघ । दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको पहिलो भेट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छ ।

भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओली स्वराजलाई भेट्न बिहीबार साँझ काठमाडौँको सोल्टी होटल पुगेका थिए । स्वराजले ओलीलाई निर्वाचनमार्फत मुलुकको नेतृत्व गर्ने अवसर पाएकोमा बधाइ दिएकी छन् ।

भारत नेपालको सधैँ हित चाहने भन्दै विदेशमन्त्री स्वराजले आगामी दिनमा पनि सहयोग र समन्वयका लागि तयार रहेको बताएकी छन् । ओलीले पनि नेपालले भारतसँग अझै गाढा सम्बन्ध बनाउन चाहेको जवाफ दिएका छन् ।

स्रोतका अनुसार स्वराजले ओलीसँग चीनसँग नेपालको बढ्दो घनिष्टताबारे पनि चासो राखेको बुझिएको छ । तर, जवाफमा ओलीले भारतसँग जस्तो निकट सम्बन्ध अहिलेसम्म कुनै देशसँग स्थापित नभएको जवाफ दिएका छन् ।

विदेशमन्त्री स्वराजको स्वागतार्थ नेकपा एमालेले बिहीबार नै रात्रीभोज आयोजना गरेको छ । रात्रिभोज शुरु हुन अघि नै ओली र स्वराजबीच भेटवार्ता भएको छ ।

यसैगरी स्वराजले नेपाल बसाइका क्रममा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देश लिएर काठमाडौं आएकी हुन् । स्वराजको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

स्वराज बिहीबार अपरान्ह साढे चार बजे विशेष बिमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल आएकी थिइन् । विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो भ्रमण सामान्य भएको बताएकी थिइन् । नेपालमा भ्रमणमा आउनुको खास एजेण्डा केही नभएको उनको भनाइ थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);