दिल्लीनीति: विदेशमन्त्रीको सदभाव, अर्थमन्त्रीको दबाब | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दिल्लीनीति: विदेशमन्त्रीको सदभाव, अर्थमन्त्रीको दबाब

काठमाडौं, १९ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा बन्ने नयाँ सरकारसँग भारत निकट रहेर काम गर्न आतुर रहेको सन्देश दिएकी छिन् । प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा बिहीबार काठमाडौं ओर्लिएलगत्तै ‘भावी प्रधानमन्त्री’का रूपमा हेरिएका एमाले अध्यक्ष केपी ओलीसँग ‘वन अन वन’ पहिलो भेटवार्ता गर्दै स्वराजले यस्तो सन्देश सुनाएकी हुन् ।

तीन साताकै बीचमा ओलीको नेतृत्वमा वाम गठबन्धनको सरकार बन्ने सम्भावना देखिएका वेला नयाँ सरकारसँग सहकार्य गर्न भारत इच्छुक रहेको उनको सन्देश थियो । विमानस्थलबाट ओलीसहित एमाले नेतृत्वसँगको भेटवार्ताका लागि सीधै होटेल सोल्टी क्राउन प्लाजा पुगेकी स्वराजले प्रदेश र प्रतिनिधिसभामा गठबन्धनले बहुमत जनसमर्थन प्राप्त गरेर दुवैतिर सरकार बनाउन लागेकोमा बधाईसमेत दिइन् ।

‘मेरोतर्फबाट मात्रै होइन, मेरो दल र भारत सरकारका तर्फबाट प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा प्राप्त गर्नुभएको बहुमत जनसमर्थनप्रति तपाईंहरूलाई धेरै–धेरै बधाई छ,’ स्वराजको भनाइ उद्धृत गर्दै एमाले नेता डा  राजन भट्टराईले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीजीले त टेलिफोन गरेरै बधाई भनिसक्नुभएको छ, तर पनि उहाँले मलाई मेरैतर्फबाट बधाई दिनुहोस् भन्दै सन्देश पठाउनुभएको छ, केन्द्र र प्रदेशमा प्राप्त गर्नुभएको जनसमर्थनप्रति भोलिको कामका लागि तपाईंहरूलाई थप शुभकामना छ ।’ स्वराजको अभिव्यक्तिलाई नयाँ सरकारसँग भारत सुमधुर सम्बन्धका साथ अघि बढ्न चाहिरहेको कूटनीतिक सन्देशका रूपमा लिइएको छ ।

भेटवार्तामा विदेशमन्त्री स्वराजले नेपालको विकास र समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् । जवाफमा ओलीले नेपालको लोकतान्त्रिक प्रक्रियामा भारतको सहयोग र सद्भाव रहेको भन्दै नेपालको समृद्धिका लागि भारतसँग सहकार्य र घनिष्ट सम्बन्धका साथ अघि बढ्न तयार रहेको बताएका थिए । भारतीय वायुसेनाको विशेष विमानमार्फत अपराह्न साढे ३ बजे काठमाडौं ओर्लिएलगत्तै स्वराजले एमाले अध्यक्ष ओलीसँग पहिलो ‘वन टु वन’ भेटवार्ता गरेकी थिइन् ।

पौने घन्टा वन–टु वनसहित तीन चरणमा छलफल
होटल सोल्टी क्राउन प्लाजामा ओली र स्वराजबीच साँझ पौने ७ बजेबाट पौने घन्टा वन टु वान, त्यसपछि सामूहिक र अन्तिममा डिनरसहित तीन चरणको बैठक भएको छ । दुई बैठक सकिएपछि स्वराजको सम्मानमा एमालेले छुट्टै रात्रीभोजको आयोजना गरेको थियो । सामूहिक भेटवार्तामा ओलीसहित उपाध्यक्ष वामदेव गौतम, भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, नेता विष्णु रिमाल र डा। भट्टराईलगायतका नेता सहभागी थिए । तीनै चरणमा दुई देशबीचको सम्बन्ध र पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रीत रहेर लामो छलफल भएको नेताहरूले बताएका छन् ।

अर्थ राज्यमन्त्री राणाले गरे स्वागत
स्वराजलाई अर्थराज्यमन्त्री उदयशमशेर राणाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । विमानस्थलमा परराष्ट्र सचिव शंकरदास बैरागी, भारत डेस्क हेर्ने सहसचिव भृगु ढुंगाना र प्रमुख शिष्टाचार महापाल दीपक अधिकारीसमेत उनको स्वागतार्थ उपस्थित थिए । विमानस्थल ओर्लिएलगत्तै उनी सिधै होटल सोल्टी क्राउन प्लाजा पुगेकी थिइन् ।

राजपा शीर्ष नेतासँग भेट
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बिहीबारै राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरूलाई भेटेकी छन् । होटल सोल्टीमा आधा घन्टासम्म भएको सामूहिक भेटवार्तामा सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको राजपा नेताहरूले बताएका छन् । स्वराज भेट्न अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव पुगेका थिए ।

सरकारको नेतृत्वका लागि शुभकामना सुषमा स्वराज, भारतीय विदेशमन्त्री
निर्वाचनमा तपाईंहरूले प्राप्त गर्नुभएको विजयप्रति बधाई भन्न चाहन्छु । मेरो तर्फबाट मात्रै होइन, मेरो दल र भारतका तर्फबाट तपाईंहरूलाई धेरै–धेरै बधाई छ । प्रधानमन्त्री नरेन्द्र मोदीजीले त टेलिफोन गरेरै बधाई भनिसक्नुभएको छ । तैपनि उहाँले मलाई मेरैतर्फबाट बधाई दिनुहोस् भन्दै सन्देश पठाउनुभएको छ । केन्द्र र प्रदेशमा प्राप्त गर्नुभएको जनसमर्थनप्रति भोलिका कामका लागि थप शुभकामना पनि छ ।

नेपाल–भारतबीच धेरै लामो गहिरो सम्बन्ध छ । यो सम्बन्धलाई धेरै राम्रोसँग अगाडि लैजानुपर्छ । नेपाल हाम्रा लागि अत्यन्त नजिकको छिमेकी मुलुक हो र छिमेकीप्रति हामीले पहिलो प्राथमिकताको नीति अवलम्बन गर्दै आएका छौं । यो नीतिअनुसार पहिलेका कामलाई प्राथमिकतामा राखेरै सम्बन्ध अघि बढाउने भारत सरकारको नीति छ । हामीले अघि सारेका आयोजनालाई पनि त्यसअनुसार नै अघि बढाउन चाहिरहेका छौं ।

समृद्धिका लागि सहकार्यका साथ बढ्न चाहन्छौं
केपी ओली, अध्यक्ष, एमाले
काठमाडौंमा यहाँलाई स्वागत छ र बधाईप्रति धन्यवाद व्यक्त गर्दछु । नेपाल–भारतबीचको सम्बन्धलाई हामी नयाँ उचाइबाट अघि बढाउन चाहन्छौं । आजको चेतना, आवश्यकता र आजको अन्तर्राष्ट्रिय र क्षेत्रीय परिवेशमा दुई सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र मुलुकहरूबीचको सम्बन्धलाई कसरी लिएर जानुपर्छ भन्ने हिसाबले अघि बढ्न चाहन्छौं । हाम्रा बीचमा साझा शत्रु गरिबी छ । हाम्रा बीचमा काम गर्न सकिने आर्थिक समृद्धि, विकासको बाटोमा साझा हिसाबले अघि बढ्न चाहन्छौं । यसमा एक–अर्कालाई सहयोग गरेर जाने हाम्रो उद्देश्य हो । हामी विकास र समृद्धिका लागि सहकार्य र घनिष्ट सम्बन्धका साथ अघि बढ्न चाहन्छौं ।आजको नयाँ पत्रिकामा खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);