अदुवा निकासी रोकिएपछि कृषक समस्यामा | ईमाउण्टेन समाचार

Our Network

साउन ११ २०८१, शुक्रबार

अदुवा निकासी रोकिएपछि कृषक समस्यामा

टीका खतिवडा
इलाम, ७ माघ । निकासी ठप्प भएपछि अदुवा उत्पादक कृषक र व्यापारी मर्कामा परेका छन् । भारतीय बजारमा अदुवा निकासीमा रोक लागेपछि इलामका कृषक तथा व्यापारी समस्यामा परेका हुन् । निकासी रोकिएपछि कृषकले बजारसम्म पुर्याएको अदुवा पनि व्यापारीको गोदाममै थन्किएको छ ।

अदुवा नबिकेपछि कतिपय कृषकले अदुवा खन्न छाडेका छन् । व्यापारीले पनि कृषकबाट करोडौँ मूल्यमा खरिद गरेको अदुवा थन्क्याएर राख्नुपरेको बताएका छन् । कृषकबाट संकलित अदुवा गोदाममा नअटेपछि व्यापारीले खुला सडकमा समेत राखेका छन् ।

भारतीय व्यापारीले बिनाकारण अदुवा लिन छाडेपछि समस्या आएको नेपाली व्यापारी बताउँछन् । अदुवा लिन छाड्नुको कारण भारतीय व्यापारीले बताउने गरेका छैनन् । कृषकको समस्या पनि उत्तिकै छ । राम्रो मूल्य पाउने आशमा बारीबाट निकालेको अदुवा भण्डारण गर्ने स्थल नहुँदा कुहिन थालेको उनीहरूले बताएका छन् । जिल्लामा कृषक र व्यापारीसँग समेत आधुनिक भण्डारण सुविधा छैन ।

जसका कारण यसै पनि करिब २० प्रतिशत अदुवा खेर जानेको छ । अदुवा समयमै बिक्री गर्न नसके गोदाममै उम्रिने, कुहिने र सुक्ने समस्या आउँछ । जसका कारण कृषक र व्यापारीले झन् बढी क्षति व्यहोर्नुपर्ने हुन्छ । बजार तथा बजार मूल्यको समस्या बढ्दै गएपछि कतिपय कृषकले अदुवाखेतीको विकल्पसमेत खोज्न थालेका छन् ।

इलाममा गत वर्षको तुलनामा अदुवा उत्पादन बढेको छ । कृषि कार्यालयका अनुसार इलाममा तीन हजार दुई सय ३३ हेक्टरमा अदुवाखेती गरिएको छ । इलामको माई जोगमाई गाउँपालिकामा जिल्लाकै सबैभन्दा बढी अदुवा उत्पादन हुन्छ । अदुवाका लागि मुख्य बजार भारत भए पनि भारतीय बजारमा हरेक वर्ष नेपाली अदुवाको निकासी रोकिएपछि कृषक निराश हुँदै गएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);