अदुवाले बजार नपाउँदा तेह्रथुमका किसान चिन्तित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अदुवाले बजार नपाउँदा तेह्रथुमका किसान चिन्तित

तेह्रथुम । फेदाप गाउँपालिका-३ का भोगेन्द्र लिम्बूले ६ रोपनी क्षेत्रफलमा अदुवा खेती गर्दै आएका छन् । अदुवा बिक्रीबाट मात्रै उनले गत वर्ष तीन लाख आम्दानी गरेका थिए । अरु अन्नबालीभन्दा राम्रो आम्दानी हुन थालेपछि उनले परम्परागत खेती मास्दै अदुवा खेती रोजेका हुन् ।

निरन्तर अदुवाको मूल्यमा गिरावट आउनु र बजार नपाउनुले यतिबेला भने लिम्बू चिन्तित बनेका छन् । किसानले उत्पादन गरेको अदुवाकाे अहिले निकासीसमेत ठप्प छ । मूल्यमा गिरावट र निकासी नहुँदा किसानको मुख्य आम्दानी स्राेत नै गुमेको छ ।

अदुवा खेती नै मुख्य आम्दानीको स्राेत भएका किसानलाई परिवार धान्नसमेत सकस हुने गरेकाे छ । ‘पोहाेरसम्म व्यापारीहरू घरघरै आउँथे तर,यो साल अदुवा खरिदका लागि व्यापारीले सोधखोजसम्म गरेका छैनन्,’ उनले भने । गाउँगाउँमा सडक सञ्जाल जोडिएसँगै ग्रामीण क्षेत्रमा उत्पादन भएको कृषिउपज वस्तुले बजार पाउँदै गर्दा किसानहरूले उत्पादन गरेको अदुवा अहिले बारीमै कुहिन थालेको छ । 

फेदाप-३ कै पदम पोखरेलले पनि दुई रोपनी क्षेत्रमा अदुवा खेती गर्दै आएका छन् । ०४२ सालमा आफैले खानका लागि अदुवा रोप्न सुरु गरेका पोखरेलले पछिल्लो समय व्यावसायिक रूपमा खेती गर्दै आएका हुन् । दुई वर्षअघि उनले अदुवा बिक्रीबाट वार्षिक तीन लाख आम्दानी गरेका थिए । उनी भन्छन्, ‘हामी किसानले उत्पादन गरेको कृषिउपजका वस्तुलाई भण्डार गरी बजारसम्म पुर्‍याउन सरकारले ध्यान दिए हुन्थ्यो । भण्डारण स्थापना गर्न सके मूल्य  पाउन थालेपछि किसानहरूलाई राहत मिल्ने थियो ।’ 

लिम्बु र पोखरेलको मात्र नभई तेह्रथुमका किसानहरूको मुख्य समस्या नै यही बनेको छ । गत वर्ष ५० रुपैयाँ प्रतिकिलो बिक्री भएको अदुवा यस वर्ष मूल्यमा गिरावट आएपछि बजार पाउन सकेको छैन ।  किसानलाई यतिबेला आफूले उत्पादन गरेको अदुवाले बजार नपाउँदा निल्नु न ओकल्नुझै बनेको छ । राम्रो आम्दानी हुने आशले व्यावसायिक अदुवा खेतीमा लागेका तेह्रथुमका किसान अदुवा बिक्री नहुँदा चिन्तित बनेका छन् । 

जिल्लाामा उत्पादित अदुवालाई प्रशाेधन गरी बजारसम्म पुर्‍याउने प्रशाेधन केन्द्रको अभाव छ । यातायातको सुविधा नहुँदा त्यतिकै खेर जाने अदुवा गाउँगाउँमा पुगेको सडकले बजारसम्म पुर्‍याउन सहज भएको थियो । जिल्लामा दुई सय ७० हेक्टरमा अदुवा खेती हुँदै आएको कृषि ज्ञानकेन्द्र धनकुटाका कृषि प्राविधिक विशाल राईले जानकारी दिए । जिल्लाको ६ वटै पालिकामा खेती हुँदै आए पनि आठराई गाउँपालिकामा अदुवा सबैभन्दा धेरै उत्पादन हुँदै आएकाे कृषि ज्ञानकेन्द्र धनकुटाले जनाएको छ । 

केन्द्रका अनुसार आर्थिक वर्ष २०७७-७८ मा चार हजार ५० मेट्रिक टन अदुवा उत्पादन भएको थियो । यस वर्ष  भने ३९ सय ४२  मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । यहाँ उत्पादन भएको अदुवा पूर्वी तराई र भारतसम्म निकासी हुने गरेको छ ।  

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);